
गोदावरी (कैलाली), वैशाख ३१ गते । कैलालीको चुरे गाउँपालिकाले पालिकाभित्रका एचआइभी सङ्क्रमितलाई मासिक भत्ता वितरण गरेको छ । पालिकाले सङ्क्रमितलाई पोषणमा कमी हुन नदिन सामाजिक सुरक्षा भत्ताका रूपमा मासिक एक हजार रुपियाँका दरले भत्ता वितरण गरेको हो ।गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गजेन्द्र विष्टले सामाजिकरुपमा अपहेलना हुने डरले खुल्न नसकेका एचआइभी सङ्क्रमितको पहिचान गर्न पालिकाले मासिक भत्ता दिएको बताउनुभयो । जिल्ला सदरमुकामको सेती प्रादेशिक र छिमेकी गोदावरी नगरपालिकामा रहेको मालाखेती अस्पतालमा एआरटी औषधी सेवन गरिरहेका व्यक्तिको खोजपड्ताल गरी सामाजिक सुरक्षा भत्ता दिइएको उहाँले जानकारी दिनुभयो ।उहाँकाअनुसार खोजपड्तालका क्रममा पालिकाभित्र २७ जना एचआइभी सङ्क्रमित रहेका फेला परेका छन् । सङ्क्रमितमध्ये १५ पुरुष र १२ जना महिला रहेका छन् । गाउँपालिकाभित्र रहेका एचआइभी सङ्क्रमितको पहिचान गरी उहाँहरूलाई पोषणको कमी हुन नदिन मासिक भत्ता वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख विष्टको भनाइ छ ।स्वास्थ्य शाखामार्फत पोषणका लागि भत्ता वितरण गरिएका सङ्क्रमित कोही पनि सामाजिकरूपमा बाहिर खुलेका छैनन् । सङ्क्रमितहरूको आवश्यक कागजात जुटाई बैंक खातामा एकमुष्ट छ महिनाको भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले बताउनुभयो ।बाँकी ६ महिनाको भत्ता पनि एकमुष्ट बैंकमा जम्मा गरिने भन्दै उहाँले पालिकामा पहिचान भएका सङ्क्रमितको निःशुल्क स्वास्थ्य बीमा गरिने जानकारी दिनुभयो । साथै पहिचान भएका सङ्क्रमितका बालबालिकालाई पालिकाभित्र रहेका विद्यालयमा निःशुल्क पठनपाठनको व्यवस्था मिलाइएको अध्यक्ष बोगटीले बताउनुभयो ।gorkhapatra




























