
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका सांसदहरूको अभिव्यक्तिका कारण कहिलेकाहीँ विवाद उत्पन्न भए पनि त्यसलाई सम्हाल्दै पार्टी अघि बढ्ने बताएका छन् ।रास्वपाको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले बुधबार भएको छलफललाई संसदीय दलको औपचारिक बैठक नभई संसदमा पार्टीको प्रस्तुति र समसामयिक विषयमा गरिएको आन्तरिक छलफल भएको बताए ।उनले ठूलो राजनीतिक दलमा धेरै सांसद भएकाले कहिलेकाहीँ कुनै सांसदको अभिव्यक्ति विवादमा पर्न सक्ने भन्दै त्यसलाई पार्टीले सम्हालेर अघि बढ्ने बताए ।‘राजनीतिक दलभित्र धेरै सांसद भएको ठूलो राजनीतिक दलमा कहिलेकाहीँ कसैको कुरा बोल्दा चिप्लिन सक्ला । धेरै छौँ, धेरैले धेरै कुरा गर्दा एक–दुई जना साथीहरूको बोलाइ कहिलेकाहीँ विवादमा पर्छ । त्यसलाई सम्हालेर हामी अगाडि बढिहाल्छौँ,’ उनले भने ।लामिछानेका अनुसार संसदमा रास्वपाका सांसदहरूको प्रस्तुति कस्तो भइरहेको छ भन्ने विषयमा पार्टीभित्र समीक्षा गरिएको थियो । संसदमा उठाइने विषय र त्यसको प्रस्तुतीकरणबारे आम नागरिकस्तरबाट समेत प्रश्न उठिरहेकाले आन्तरिक समीक्षा आवश्यक भएको उनको भनाइ थियो ।यस्तै, सरकार, मन्त्रालय तथा मन्त्रीहरूका विषयमा पार्टीभित्र कुनै असन्तुष्टि वा प्रश्न छन् कि छैनन् भन्नेबारे पनि छलफल गरिएको उनले बताए ।‘संसदको मर्यादा कायम गर्ने जिम्मेवारी हाम्रो रहन्छ । संसदमा मर्यादित ढंगले प्रस्तुत हुने र उठ्ने विषयवस्तु आम नागरिकको जीवनसँग जोडिएका हुनेलगायत सबै विषयमा एकैपटक छलफल गरेर बेटर अन्डरस्ट्यान्डिङका साथ अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्यौँ,’ लामिछानेले भने ।यसैबीच, लामिछानेले प्रधानमन्त्री बालेन शाहसँग आफ्नो सम्बन्ध बिग्रिएको भन्ने चर्चाको खण्डन गरेका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा ‘एक्लै लडिरहेको’ आशयको स्टाटस लेखेको विषयमा पत्रकारले प्रश्न गरेपछि लामिछानेले त्यसलाई प्रधानमन्त्रीको ‘कवि भावना’का रूपमा टिप्पणी गरे ।‘दुई जनाबीच झगडा पर्यो भनेर लेख्नुहुन्छ, हामीलाई रमाइलो लाग्छ । तपाईंहरूको समाचारले हामीलाई अझ नजिक ल्याइरहेको छ । त्यसैले समाचार लेख्न नरोक्नुहोला,’ उनले भने ।प्रधानमन्त्री शाह कवि र कलाकारसमेत भएकाले उनका हरेक शब्दको राजनीतिक अर्थ खोज्न आवश्यक नरहेको लामिछानेले बताए । ‘यहाँ पार्टी सिंगै उभिएको छ, कहाँ एक्लो हुनुहुन्छ ?’ उनले प्रश्न गरे ।



























