
काठमाडौँ — ओमानमा भइरहेको आइसिसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजमा नेपालले क्यानडामाथि २४ रनको रोमाञ्चक जित हात पारेको छ । पूर्वकप्तान रोहित पौडेलको शतकीय र गुलशन झाको महत्त्वपूर्ण इनिङ्सको मद्दतले नेपालले सिरिजमा विजयी सुरुआत गरेको हो ।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३५ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले १२५ बलमा ८ चौका र १ छक्काको मद्दतले १०१ रन बनाए ।रोहितको ओडीआई करियरमा यो तेस्रो शतक हो । यसअघि उनले सन् २०२२ मा पिएनजीविरुद्ध १२६ र २०२५ मा युएईविरुद्ध १०९ रनको शतकीय इनिङ खेलेका थिए। त्यस्तै, गुलशन झाले ४८ रन, बसिर अहमदले ३० रन र अर्जुन कुमालले २३ रन जोडे क्यानडाका बलर अखिल कुमारले ४ तथा सुख्जिन्द सिंहले ३ विकेट लिए ।२३६ रनको लक्ष्य पछ्याएको क्यानडा नेपाली बलरहरूको कसिलो बलिङका कारण ४८.४ ओभरमा २११ रनमै समेटियो । क्यानडाका लागि एरोन जोनसनले सर्वाधिक ४४ रन, समित पटेलले ३५ रन र अखिल कुमारले अविजित ३० रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । क्यानडालाई सस्तैमा समेट्न नेपालका बलरहरू नन्दन यादव, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशीले समान २–२ विकेट लिए ।नेपालले अब सिरिजको आफ्नो दोस्रो खेलमा आगामी मङ्गलवार घरेलु टोली ओमानको सामना गर्नेछ ।



























