
काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण निर्माण गर्दै राज्यले संरक्षण र आवश्यक नियमन गर्नुपर्ने बताएका छन् ।नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०२६ लाई सम्बोधन गर्दै सभामुख अर्यालले देशको समृद्धिका लागि निजी क्षेत्रले ठूलो जोखिम मोलेर लगानी गरिरहेको बताएका हुन् ।उनले निजी क्षेत्रको लगानीमा राज्य करिब २८ देखि ३० प्रतिशतसम्म बिना लगानीको साझेदारजस्तो रहेको टिप्पणी गरे । राज्यले स्पष्ट नीति निर्माण गर्ने, निजी क्षेत्रको लगानीको सुरक्षा गर्ने र आवश्यक नियमन मात्र गर्नुपर्ने उनको भनाइ थियो ।‘राज्यले स्पष्ट नीति बनाउने, निजी क्षेत्रलाई सुरक्षा दिने र आवश्यक नियमन गर्ने हो,’ उनले भने, ‘विगतको इतिहास र राजनीतिलाई गालीगलौज गरेर समय खेर फाल्नुभन्दा परिणाममुखी काम र विषयवस्तुमै केन्द्रित हुनुपर्छ ।’सभामुख अर्यालले नेपाली नागरिकलाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए । अध्ययन तथा अनुसन्धानका लागि विदेश जाने अवस्था स्वाभाविक भए पनि घरायसी खर्च, छोराछोरीको शिक्षाको शुल्क तथा परिवारका सदस्यको उपचारका लागि समेत विदेशिनुपर्ने अवस्था अन्त्य गर्नुपर्ने उनले बताए ।आफू विगत ३० वर्षदेखि यही उद्देश्यका साथ स्वदेशमै काम र लगानीमा जुटिरहेको स्मरण गर्दै उनले उद्योगी–व्यवसायीले लगानी तथा व्यवसाय सञ्चालन गर्दा ‘देशमा राज्यको उपस्थिति छ कि छैन’ भन्ने प्रश्न उठ्ने अवस्था आउन नहुने बताए ।विश्वका प्रमुख सहरहरूमा नयाँ संरचना निर्माणका लागि पुराना भवन भत्काउनुपर्ने अवस्था आइसकेको उल्लेख गर्दै सभामुख अर्यालले नेपालमा भने व्यवस्थित पूर्वाधार निर्माण र विकासका लागि अझै प्रशस्त सम्भावना रहेको बताए ।नेपालका ग्रामीण क्षेत्रहरू समेत तीव्र रूपमा सहरीकरणतर्फ उन्मुख भइरहेको र ठूलो हिस्सा घरपरिवारमा विप्रेषण भित्रिरहेको उल्लेख गर्दै उनले रेमिट्यान्सबाट आएको पुँजीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए ।देशको पूर्वाधार, निर्माण र उत्पादनका क्षेत्रमा पुँजी परिचालन गर्न सके त्यसले अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।



























