
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठकमा विभिन्न विधेयक तथा समसामयिक विषयमाथि छलफल हुने कार्यसूची रहेको छ ।बैठकको सुरुवातमा राष्ट्रपति कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्र पढेर सुनाइने भएको छ ।त्यसपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नेछन् । अनुमति प्राप्त भएपछि उनले उक्त विधेयक प्रतिनिधिसभामा प्रस्तुत गर्ने कार्यसूची छ ।त्यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फस्र्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।



























