
काठमाडौँको तीनकुने र बल्खु क्षेत्रमा सवारीसाधन अवरोध भएको छ । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार तीनकुनेमा युवा सङ्घको र्याली र बल्खुमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानको मोटरसाइकल र्यालीका कारण उक्त क्षेत्रमा सवारीसाधन अवरोध भएको हो ।अन्य क्षेत्र बालाजुदेखि रत्नपार्क, कलङ्की हुँदै रत्नपार्क, ललितपुर हुँदै रत्नपार्क चल्ने सवारीसाधन भने विना अवरोध सञ्चालन भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । अन्य भित्री सडकमा पनि सवारी आवागमनमा कुनै समस्या नरहेको ट्राफिक प्रहरीले जनाएको छ ।यस्तै, काठमाडौँको बल्खु चोकमा दुई समूहबिच ढुङ्गामुढा र तोडफोड भएको छ । प्रहरी जवान धनराज खत्रीका अनुसार कालीमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा सङ्घको बाइक र्यालीमाथि बल्खु चोकमा ढुङ्गा प्रहार भएपछि झडप भएको थियो । अहिले स्थिति नियन्त्रणमा आइसकेको उहाँको भनाइ छ । यस क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ ।




























