
राष्ट्रिय गौरवको रुपमा रहेको नारायणगढ–बुटवल सडक खण्ड विस्तार आयोजना अन्तर्गत खानेपानी पाइपलाइन विस्तारको कामले तिव्रता पाएको छ ।सडकखण्ड विस्तारको क्रममा जिल्लाको गैँडाकोटदेखि दुम्किबाससम्म २८ किलोमिटर पाइपलाइन विस्तार गर्नुपर्ने भए पनि अहिले २१ किलोमिटर खानेपानीको पाइप विस्तारको काम भएको जिल्ला खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खिमानन्द भुसालले जानकारी दिनुभयो ।खानेपानी पाइप विस्तार कार्यले तिव्रता पाएको छ, तर जिल्लामा आवश्यक भल्व चेम्वरको कार्यमा भने प्रगति नभएको अध्यक्ष भुसालले बताउनुभयो । पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकको गैँडाकोटदेखि दाउन्नेसम्म ६४.४२५ किलोमिटर सडकको पूर्वी भागलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४८.५३५ किलोमिटरको पश्चिम भागलाई खण्ड ‘ख’ अन्तर्गत राखिएको छ । विस्तार भइरहेको सडकको कुल लम्बाइ एकसय १५ किलोमिटर छ ।नारायणगढ–बुटवल सडकको हालसम्म खण्ड ‘क’ मा भौतिक प्रगति ४३.०४ प्रतिशत (एकतर्फी १७ किलोमिटर कालोपत्रे) र पश्चिमखण्डमा ३८.५ प्रतिशत (एकतर्फी १९.५ किलोमिटर कालोपत्रे) प्रगति भएको आयोजनाले जनाएको छ । खण्ड ‘क’ मा अहिले कावासोती क्षेत्रमा कालोपत्रेको तयारी गरिएको छ ।यस क्षेत्रमा ६ किलोमिटर कालोपत्रे हुनेछ । पुस महिनाभरिमा १० किलोमिटर बाटो कालोपत्रे गर्ने योजना रहेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्रालिका प्रोजेक्ट म्यानेजर राकेश झाले बताउनुभयो ।सुुरुमा ‘इआईए’ गर्दा ११५ किलोमिटर क्षेत्रभित्र पर्ने ३६ हजार दुईसय २५ रुख कटान गरिसकिएको छ । त्यस्तै, आयोजनाको पूर्वीखण्डमा अहिलेसम्म ५० प्रतिशत विद्युतका पोल सार्ने काम सकिएको छ । सडकको दुईतिर रहेका तीन हजार विद्युतको पोल सार्ने काम भएको छ । सातसय ३७ बाँकी रहेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन प्रालिका प्रोजेक्ट म्यानेजर झाले बताउनुभयो ।यस सडकमा २१५ वटा बक्स कल्भर्टमा १५५ वटा निर्माण कार्य सकिएको छ । २२ मेजर पुलमा १९ वटाको निर्माण कार्य सकिएको उहाँले बताउनुभयो । विगतमा पोल सार्ने, रुख कटान, खानेपानी, गिटी बालुवालगायतका समस्या भए पनि अहिले ती सबै समस्या समाधान भएको उहाँको भनाइ छ ।चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले काम सकिएको पाँच वर्षसम्म बाटो मर्मतको काम स्वयं निर्माण कम्पनीले गर्नुपर्ने सम्झौतामा उल्लेख छ । कम्पनीले बाँकी ५ प्रतिशत निर्माणको कामलाई समेत त्यही मर्मत सम्भार गर्नुपर्ने अवधिमा राखेको छ । सडक बस्ती क्षेत्रमा ६ लेन र जङ्गल क्षेत्रमा चार लेन तथा दाउन्ने पहाडमा तीन लेन विस्तार गर्नेगरी एसियाली विकास बैंक एडिबीको ऋण सहयोगमा कूल १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्गकोे विस्तार सुरु गरिएको हो ।




























