काठमाडौँ — ताइवानमा बुधबार शक्तिशाली भूकम्प गएको छ । ताइवानको पूर्वी तटमा ७.४ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्पपछि टापु र दक्षिणी जापानमा सुनामीको चेतावनी दिइएको छ ।भूकम्पपछि ६.५ म्याग्निच्युडसहितका थुप्रै ठूला परकम्प आइरहेको बीबीसीले जनाएको छ । ताइवानका अधिकारीहरूले यो भूकम्पलाई २५ वर्षयताकै शक्तिशाली भनेका छन्।ताइवानको केन्द्रीय मौसम प्रशासनले भूकम्पपछि सुनामीको चेतावनी जारी गरेको छ । सुनामीले टापुको उत्तरी तटीय क्षेत्रमा प्रभाव पार्ने अपेक्षा सम्भावना भएकाले स्थानीयहरूलाई उच्च जमिनमा स्थानान्तरण गर्न भनेको छ ।जापान मौसम विज्ञान एजेन्सीले मियाकोजिमा र ओकिनावा टापुहरूमा सुनामीको चेतावनी पनि जारी गरेको छ । ३ मिटर अग्लो छालहरू आउने चेतावनी दिएको छ । ३० सेन्टिमिटर छालले ओकिनावालाई असर गरेको एजेन्सीले जनाएको छ।भूकम्पपछि ताइपेका कतिपय स्थानमा विद्युत् आपूर्ति बन्द भएको छ । भूकम्पले पुर्याएको क्षतिको विवरण आउन भने बाँकी छ ।