
काठमाडौं : निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले बिहीबार एक विज्ञप्ति जारी गर्दै पुस १६ गतेदेखि लागू हुने गरी राष्ट्रिय सभा निर्वाचनका लागि ७ जना जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको जानकारी दिएको हो । नियुक्त निर्वाचन अधिकृतले पुस १६ गते सम्बन्धित प्रदेशको प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने आयोगले जनाएको छ । आयोगले कोशी प्रदेशका लागि मोरङ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुंगेल, मधेश प्रदेशका लागि धनुषा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सुवेदी, बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्की, गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद बास्तोला, लुम्बिनी प्रदेशका लागि दाङ जिल्ला अदालतका न्यायाधीश कृपासुर कार्की, कर्णाली प्रदेशका लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अर्याल र सुदूरपश्चिमका लागि कैलाली जिल्ला अदालतका न्यायाधीश ओमप्रसाद अर्याललाई निर्वाचन अधिकृत नियुक्त गरेको छ ।




























