काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा कांग्रेसको उम्मेदवारको मुख नहेरी रूखलाई हेरेर मतदान गर्न नेता, कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस सुनापति गाउँपालिका केन्द्रित चुनावी अभियानको भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेसको उम्मेदवारहरूको मुख नहेरी रूख चिन्हमा मतदान गर्न नेता, कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको हो । उहाँले जो–जो व्यक्ति भएको भए पनि रुख चिन्ह लिएर उठेको कांग्रेसको उम्मेदवार भएको उल्लेख गर्दै व्यक्तिमा असन्तुष्टि भए पनि कांग्रेस पार्टीलाई मत दिनुपर्ने बताए । उनले पार्टीलाई व्यवस्थित बनाउनका लागि आफुहरू लागिरहेको पनि बताए । उनले भने, ‘नेपाली कांग्रेस पार्टीलाई पुरातनबाट आधुनिक बनाउन जाँदै गर्दाखेरी कांग्रेसले क्रियाशील सदस्यको व्यवस्थापनको विधिलाई, भ्रातृ संस्थाहरूको व्यवस्थापन गर्नुपर्ने र उम्मेदवार चयनको प्रक्रियाको सन्दर्भमा एउटा नविन शैलीलाई निरुपण गर्नुपर्ने, नविन शैलीलाई अख्तियार गर्नुपर्ने अवस्था छ । हामी केही अप्ठ्यारोहरू पनि बेहोरीरहेका छौं । त्यसकारण देशभरी जो उम्मेदवार बन्नुभएको छ, तपाईले चाहे बमोजिम बन्नुभएको छ त्यो पनि नेपाली कांग्रेसको उम्मेदवार, कतिपय साथीभाईहरूलाई फलानो नबनोस् भन्ने लागिरहेको अवस्थाको कुनै तहमा छ त्यो पनि नेपाली कांग्रेसको उम्मेदवार ।
मापदण्ड पु-याएर उम्मेदवार चयन भएको छ त्यो पनि नेपाली कांग्रेसको उम्मेदवार । कतिपय ठाउँमा प्रक्रिया मिलेन भन्ने भइरहेको छ भने उहाँपनि नेपाली कांग्रेसको उम्मेदवार । त्यसैले म अपिल र आग्रह गर्न चाहान्छु देशभरीका साथीहरूलाई उम्मेदवारी दर्ता भइसकेर टुंगोमा पुगिसकेको यो बेलामा अब मुख हेर्ने होइन रुख हेर्ने हो र नेपाली कांग्रेस पार्टीलाई विजयी बनाउनका लागि एकढिक्का भएर लाग्ने भन्ने म अपिल र आग्रह गर्न चाहान्छु ।’
महामन्त्री शर्माले दश वर्षमा देशलाई बिजुली बेचेर धनी बनाउने सपना कांग्रेसको रहेको बताए । उनले एमसीसी परियोजना सफल भएर १० वर्षमा हरेक नेपालीको चुल्होमा बिजुलीले खान पकाउन सक्ने अवस्था आउने पनि उल्लेख गर्नुभयो । काठमाडौंको सडकमा डिजेल र पेट्रोलको गाडीहरूलाई बिस्थापित गरेर बिद्युतिय गाडी बिस्तार गरिने पनि उनको भनाइ छ । उनले भने, ‘युवकलाई विदेशमा बेचेर होइन । युवकहरूको देशलाई नेपाल देशमा भएको बिजुलीलाई भारतमा बेचेर हामी मान्छे बेचेर धनि बनाउने भन्ने यो देशको सपनालाई बदलेर हामी बिजुली बेचेर यो देशलाई धनि बनाउन चाहान्छौं भन्ने सपनातर्फ नेपाली कांग्रेसले यो देशलाई लादैछ । त्यो लानु भनेको प्याट्ट गर्दाखेरी ग्याँस आउँछ भनेर भन्ने कमरेड केपी ओलीलाई सोध्यो भने ग्याँसको भण्डार कहाँ–कहाँ छ उहाँ भन्न सक्नुहुन्न । तर हामी भन्छौँ एमसीसी परियोजना सफल भएर अगाडी बढ्दै गर्दाको दश वर्षमा हरेक नेपालीको चुल्होमा बिजुलीले खाना पाक्न सक्ने अवस्था बनाउँछौँ । बिजुली कहाँ छ भन्नुहुन्छ भने नेपालको नदीनालामा गएर हेर्नुहोस् । हामीसँग प्रशस्त बिजुली बनाउन सक्ने खोलाहरू छन् । काठमाडौँको सडकमा डिजेल र पेट्रोलबाट गुडिरहेका गाडीहरू होइन । डिजेल र पेट्रोलबाट गुडिरहेका गाडीहरूलाई प्रतिस्थापन गरेर बिजुलीबाट कुद्ने गाडी बनाउन सकिन्छ ।’
महामन्त्री शर्माले नेपाली कांग्रेसलाई मतदान गर्ने मतदाताहरूलाई सुरक्षा दिँदै मतदानस्थलसम्म लैजान युवाहरूलाई निर्देशन दिए । मतदान गरेर मात्रै कांग्रेसले नजित्ने भन्दै उनले सही रुपमा मतदान गर्न मतदातलाई सिकाउन र मतदान भइसकेपछि मत गणनामा चनाखो भएर बस्न पनि उहाँले आग्रह गरे ।