
काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको फोटो हटाएको विषयमा उत्पन्न तनाव अझ साम्य भएको छैन ।मंगलबार भने मेयर साम्पाङ र दलका स्थानीय नेता–कार्यकर्ताबीच छलफल भइरहेको छ । उपमहानगरका एक कर्मचारीका अनुसार केहीबेरमा धरानका मेयर हर्क साम्पाङ राई र दलका भातृ संगठनबीच सहमति हुने सम्भावना छ ।
‘मेयरले २० पुसमा मनाउने धरान डे मा प्रधानमन्त्री आउनुपर्ने शर्त राखेका छन्, त्यसको लागि राजनीतिक दलका भ्रातृ संगठनले पहल लिने सहमति हुन लागेको छ’, ती कर्मचारीले भने ।राजनीतिक दलका स्थानीय नेता, कार्यकर्ताले धरान उपमहानगरमा प्रधानमन्त्री र राष्ट्रपतिको फोटो राख्न माग गर्दै उपमहानगरको कार्यालय घेराउ गरेपछि ठूलो संख्यामा प्रहरी परिचालन समेत गरिएको थियो । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जसपासहित दलका युवा, विद्यार्थी तथा महिला संगठनका कार्यकर्ता राष्ट्रपति र प्रधानमन्त्रीको फोटो बोकेर उपमहानगरपालिकाको कार्यालय मूलगेटमा ताला लगाइएको थियो । मेयर साम्पाङले १२ पुसमा प्रधानमन्त्री र राष्ट्रपतिको फोटो हटाएका थिए ।




























