
काठमाडौँ। महोत्तरीमा आयोजित पार्टीको एक कार्यक्रममा बोल्दै नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी २०८४ सालमा बहुमत ल्याएर सरकार हाँक्ने नीतिका साथ अघि बढेको बताएका छन् । अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धनलाई भ्रष्ट र तस्करको रुपमा चित्रण गर्दै त्यसले देश र जनताको पक्षमा केही पनि काम गर्न नसकेको आरोप लगाउनुको साथै प्रधानमन्त्री पुष्पकमल दाहालप्रति संकेत गर्दै वर्तमान सरकारले देशको हितको पक्षमा मित्र राष्ट्रहरुसँग आँखा जुधाएर कुरा गर्ने हैसियत समेत नराखेको जिकिर गरेका छन् । अध्यक्ष ओलीले सत्तारुढ गठबन्धन मुलुकका जति दिन रह्यो, देशले त्यति नै धेरै दुःख पाउने बताएको छ।ओलीले ‘यो निकम्मा गठबन्धन, भ्रष्ट गठबन्धन, तस्करी चलाएको छ । रोक्न सकेको छैन । यो गठबन्धन निकम्मा त हो नि । जनताका लागि केही गर्न नसक्ने यो गठबन्धन । अनि, छिमेकीहरु, मित्रहरुसँग भेटदा आँखा जुधाएर कुरा गर्न नसक्ने, देशको हितको पक्षमा कुरा बोल्न नसक्ने, टाउको निहुँ¥याएर हात मोलेर बस्ने यस्तो खालको गठबन्धन । यस्तो खालको गठबन्धन भत्काउने, ढाल्नेतिर केही होइन । हामी मिशन २०८४ भनेका छौं । दिगो ढंगले हामी राजनीति गर्न चाहन्छांै । बहुमत ल्याएर सरकार बनाउन चाहन्छौं । बहुमतको सरकार हाँकेर देश बनाउन चाहन्छौं । हाम्रो नीति त्यो छ । यो कुनै विचार मिलेको गठबन्धन हो र । यो स्वार्थहरु जोडेर बनाएको गठबन्धन । आफैँ स्वार्थ टकाराएर झिल्का निक्लिरहेको छ । त्यसकारण यस्तो सरकार कति दिन्छ चल्छ ? जतिदिन चल्छ, देशलाई दुःख दिन्छ ।’ भन्दै सरकार र गठबन्धन पार्टीहरुप्रति आक्रोश ब्यक्त गरेका छन्।अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार हटेपछि देशमा विकास, निर्माणको काम ठप्प भएको दावी समेत गरेका छन् । —न्युज एजेन्सी नेपाल




























