
काठमाडौँ। सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले त्रिभुवन विश्वविद्यालयलगायतका नेतृत्व राजनीतिक भागबण्डाको आधारमा नियुक्ति नगर्न सरकारलाई दबाब दिएको छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया अघि बढिरहँदा उहाँले सबै विश्वविद्यालयको नेतृत्वको नियुक्ति राजनीतिक भागबण्डाको आधार नगर्न सरकारलाई सचेत समेत गराएको छ । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै महामन्त्री थापाले सरकारले कुनैपनि नागरिकले प्रश्न उठाउने मौका नपाउने गरी विश्वविद्यालयहरुको नेतृत्वको नियुक्ति गर्नुपर्ने बताउदै विद्यालयमा बालबालिकाहरुले सक्ने वातावरण निर्माण गर्ने काममा पनि सरकारले विशेष ध्यान दिनुपर्ने जोड दिएका छन् ।महामन्त्री थापाले भनेका छन् ‘सरकारले मौका पाएको बेलामा त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालयको नेतृत्वहरु भागबण्डा नगरीकन विश्वविद्यालयको नेतृत्वको नियुक्ति गर्दाखेरी नै कुनैपनि नागरिकले टिप्पणी गर्न नसक्ने गरी बनाउने मौकाबाट चुक्यो भने हाम्रा कुरा कुरा मात्रै हुन्छन् । हामीले यहाँ संसदबाट गर्ने काम र सरकारबाट गर्ने कामलाई आम नागरिकका सरोकारका विषयसँग जोड्न सक्छौं कि सक्दैनौ ? अहिले हामी केटाकेटीहरु विद्यालय पढ्न गएको देख्छौं हामी । थुप्रै विद्यालयहरु खुलेका छन् विद्यालयको भवन पनि बनेका छन् । पढ्छन् तर सिकिरहेका छैनन् ।’ महामन्त्री थापाले संघीयतासँग सम्बन्धित कानून निर्माणमा सरकारले संसदको चालु अधिवेशनमा विशेष ध्यान दिने विश्वास समेत व्यक्त गरेका छन । —न्युज एजेन्सी नेपाल




























