
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुदन गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त हुने भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले गुरुङलाई आजै गृहमन्त्रीमा नियुक्त गर्ने तयारी गरेको स्रोतले जनाएको छ । उनी आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको बताइएको छ ।गुरुङले आफ्नो सम्पत्तिसम्बन्धी विवादबारे चौतर्फी प्रश्न उठेपछि गत वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसपछि मन्त्री रहँदा तथा पदत्यागपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन र छानबिन गर्न सरकारले समिति गठन गरेको थियो ।उक्त समितिले गुरुङलाई दोषी नदेखाएको निष्कर्ष दिएपछि उनी पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किन लागेका हुन् । गुरुङको पुनरागमनसँगै सरकारको निर्णय र छानबिन प्रतिवेदनबारे राजनीतिक वृत्तमा थप चर्चा सुरु भएको छ ।



























