
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्वतीय देशको नेताको रूपमा नेपाल स्थापित भइसकेको बताउनुभएको छ ।७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पर्वतीय देशको नेताको रूपमा नेपाल स्थापित भइसकेको र हिमालका मुद्दामा विश्वको ध्यान नेपालतर्फ राम्रोसँग आकर्षित भएको बताउनुभएको हो । उहाँले जलवायु परिवर्तनका असरलाई न्यूनीकरण र हिमालमा फोहोरमैलाको व्यवस्थापनलगायतका चुनौतीलाई सामना गर्दै हिमालमा प्रदुषणरहित बनाइराख्न सहकार्य र समन्वयको आवश्यकता रहेको भन्दै यसका लागि नेपाल सरकारले हिमाल जोगाऔँ, मानवता बचाऔँ भन्ने नाराका साथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चहरूमा संवाद गर्ने नीति अघि सारेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले हिमाल आरोहीहरूको भविष्यको सुरक्षाका लागि आरोही कल्याणकारी कोष स्थापना गर्ने उद्घोष गर्नुभयो । उहाँले आरोहण क्षेत्रलाई अझ सहज बनाउन कर छुटको व्यवस्थाका लागि पहल गर्ने भन्दै यस क्षेत्रको व्यवसायिकता वृद्धिका निम्ति सरकारको तर्फबाट गर्न सकिने कामको पहल हुने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनको असरको चपेटामा सर्वोच्च शिखरसहितका अन्य हिमश्रृंखलाहरू परेको भन्दै हिमालको संरक्षणमा सबै जुट्न आवश्यक रहेको बताउनुभयो । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा १६ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ विभिन्न कार्यक्रम सञ्चालन गर्ने घोषणा गरिएको जानकारी दिँदै प्रधानमन्त्रीले नयाँ गन्तव्यको पहिचान तथा मौजुदा गन्तव्यको विकास र प्रवर्द्धन, पर्यटकलाई एकद्वार प्रणालीबाट सेवा प्रवाह, पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित प्रविधिमा आधारित बनाउने तथा टाकुरा पर्वतीय गन्तव्यको पहिचान, प्रवर्द्धन कार्यक्रम राखिएको बताउनुभयो ।कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले सरकारले लिएको आगामी आर्थिक वर्षमा १६ लाख पर्यटन भित्र्याउने लक्ष्य पूरा गर्न पर्वतारोहणसँग सम्बन्धित विभिन्न संघसंस्था, सहयोगी, पर्यटन व्यवसायी लगायत सबैसँग समन्वय गरेर सहकार्य गरेर एक आपसमा विश्वासको वातावरण सिर्जना गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले विश्वभर तापक्रम वृद्धि लगायत हिमाली क्षेत्रमा बढ्दो मानवीय र वातावरणमा नकारात्मक प्रभावको सन्तुलन कायम गर्न मन्त्रालयले सगरमाथा आधार शिविरको समग्र अध्ययनको लागि एक समिति गठन गरेको भन्दै समितिले चाँडै नै उपयुक्त निकाससहित सरकारलाई प्रतिवेदन पेस गर्ने बताउनुभयो ।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले जलवायु परिवर्तनको चपेटामा परेको सगरमाथासहितका हिमालहरुको संरक्षणमा आवश्यक पहलकदमी हुन नसकेको भन्दै आरोहणलाई नियमन गर्न जरुरी रहेको बताउनुभयो । उहाँले ६ हजार मिटरको हिमाल चढेपछि मात्र सगरमाथा चढ्न पाइने व्यवस्था हटाई ८ हजार माथिका अरु हिमालहरु आरोहण गरिसकेपछि मात्रै सगरमाथा आरोहण गर्न पाउने मापदण्ड बनाउनुपर्ने धारणा राख्नुभयो ।दिवसका अवसरमा किर्तिमानी आरोहीहरुका साथै पर्वतीय पर्यटनको क्षेत्रमा योगदान पु¥याएका विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । ७१ वर्षअघि अर्थात सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको शिखरमा मानवले पाइला टेकेको सम्झनामा मे २९ को दिनलाई अन्तर्राष्ट्रियसगरमाथा दिवसको रुपमा मनाइन्छ । मानव र सगरमाथा बिचको सामीप्य बुझाउन यस वर्ष सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथा ः नेपालको पहिचान र गौरव भन्ने नारा तय गरी सगरमाथा दिवस मनाएको हो ।((




























