
नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टिकापुर घटना घटाउनेको नाम सार्वजनिक गर्ने बेला आएको बताउनुभएको छ ।समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा चौधरीले टिकापुर घटनाका बारेमा लाल आयोगको प्रतिवेदन लुकाइएको भन्दै अव उक्त घटना घटाउनेको नाम सार्वजनिक गर्ने बेला आएको बताउनुभएको हो ।उहाले टिकापुर घटनामा घाइते व्यक्तिलाई उपचार गर्न अस्पताल लाने, रिक्सा चलाउने, तरकारी बेच्ने निर्दोष थारुहरुलाई ८ बर्ष जेल पठाइएको जिकिर गर्नुभयो । जबरजस्ती दोषी बनाइएका थारुहरुलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्ने बन्दोबस्त गर्न उहाले गृहमन्त्री समक्ष आग्रह गर्नुभयो । उहाले साढे १० हजार जनप्रतिनिधि र एक लाख ३९ हजार जनता सहभागी भएको आफ्नो पार्टीको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध ठहर गर्नु उचित नभएको धारणा राख्नुभयो । चौधरीले श्रीमान श्रीमतीबिच फाटो ल्याउन खोज्ने दलहरुले देशको बिकास गर्न नसक्ने तर्क गर्नुभयो ।उहाले आफुलाई अझैपनि तर्साउने प्रयत्न भइरहेको भन्दै त्यसबाट आफु रतिभर पनि त्रसित नहुने बताउनुभयो ।




























