
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उत्तर कोरियामा भव्य स्वागत भएको छ । दुई दिने राजकीय भ्रमणका लागि २४ वर्षपछि उत्तर कोरिया पुग्नुभएका पुटिनलाई स्वागत गर्न नेता किम जोङ उन प्योङयाङको विमानस्थल पुग्नुभएको थियो । यसअघि सन् २००० मा राष्ट्रपति पद सम्हालेको केही समयमै पुटिन पहिलो पटक त्यहाँ जानुभएको थियो ।पुटिनको भ्रमण टोलीमा विदेशमन्त्री सेर्गेई लाभरोभ, रक्षामन्त्री एन्ड्रेई बेलुसोभ, प्रथम उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्री, पारवहनमन्त्री लगायत उच्च पदस्थ अधिकारीको टोली सहभागी छ । उत्तर कोरिया भ्रमणका क्रममा दुई देशबीच रणनीतिक साझेदारी सन्धिका साथै अन्य सहयोग सम्झौतामा हस्ताक्षर हुने बीबीसीले जनाएको छ ।पुटिन र समकक्षी किमबीच आज औपचारिक भेटवार्ता हुँदैछ । उहाँहरुबीच हातहतिहार, निर्माण कामदार, युद्धको बेला आवश्यक स्वयंसेवकहरु बारे छलफल गर्ने अनुमान गरेको छ । यसअघि पुटिनले उत्तर कोरियाका संस्थापक किम इल सुङको समाधिस्थलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।




























