
२०८१ असार १० काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सहकारी प्रकरणको छानविन गर्न बनेको समितिले न्याय दिन नसक्ने बताउनुभएको छ ।सोमबार काठमाडौंको माइतिघर पुगेर सहकारी पिडितको आन्दोलनलाई समर्थन जनाउदै केसीले सहकारी छानविन समितिको प्रतिवेदन कार्यान्वयन हुन नसक्ने र पिडितहरुले न्याय नपाउने बताउनुभएको हो ।उहाले सत्ताकै आडमा सहकारी बचतकर्ताको रकम हिनामिना भएको भन्दै सांसदहरु रहेको छानविन समितिले सत्ताको प्रभावका कारण निष्पक्ष काम गर्न नसक्ने जिकिर गर्नुभयो ।केसीले राज्यशक्तिको आडमा नेपाली जनताको पसिनामा कसैले पौडी खेल्न नपाउने उल्लेख गर्नुभयो । सहकारीबाट बचत रकमफिर्ताका लािग निर्णायक आन्दोलन गर्न उहाले सुझाव दिनुभयो ।सहकारी बचत अपचलनकर्तालाई कारवाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरेपनि कार्यान्वयन नभएको भन्दै पिडितहरुले माइतिघरमा निरन्तर प्रदर्शन गरिरहेका छन् । सरकारले आफूहरुसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले आन्दोलन गर्नुपरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले जनाएको छ ।




























