
काठमाडौं| नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशनको दोश्रो दिन बिभिन्न प्रतिवेदनहरु प्रस्तुत गरिएको छ ।काठमाडौंको प्रज्ञा भवनमा जारी महाधिवेशन अन्तर्गत बन्द सत्रमा अध्यक्षको राजनीतिक लगाएत बिभिन्न प्रतिवेदनहरु प्रस्तुत गरिएको हो । प्रतिवेदनहरुमाथि बिभिन्न समूहमा मंगलबार दिउँसोसम्म छलफल हुने उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।समूहगत छलफलपछि मंगलबार नै सामूहिक निष्कर्ष प्रस्तुत हुने भन्दै त्यसका आधारमा परिमार्जन गरि प्रतिवेदन पारित गर्ने बताउनुभयो । उहाले बिभिन्न प्रतिवेदन पारित भएपछि निर्वाचन प्रक्रिया सुरु हुने जानकारी दिनुभयो । नयाँ नेतृत्वका चयनका लागि सहमतिको अधिकतम प्रयास गर्ने र सहमति हुन नसके निर्वाचन प्रक्रियामा जाने गरि तयारी गरिएको खतिवडाले बताउनुभयो ।यसअघि सोमबार नै समाजवालीले महाधिवेशन सम्पन्न गर्न पार्टीका सम्मानित नेता झलनाथ खनालको अध्यक्षतामा १३ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको थियो । अध्यक्ष मण्डलले सम्पूर्ण महाधिवेशन सञ्चालन गर्न विभिन्न संयन्त्र बनाउने तथा विधान र प्रतिवेदनमाथि छलफलबाट सुझाव लिई दस्ताबेज बनाएर पारित गर्ने जिम्मेवारी रहेको छ । नयाँ नेतृत्व चयन गर्दै नेकपा एकीकृत समाजवादीको महाधिवेशन असार २० गतेसम्म सम्पन्न गर्ने तय भएको छ ।




























