
नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकमा स्थीरता कायम गर्न संसदको पहिलो र दोस्रो ठूला दल मिली सरकार गठन गरिएको बताउनुभएको छ ।आइतबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथिको छलफलका क्रममा देउवाले देश विकासको लागि पहिला स्थिर र मजबुत सरकार निर्माण गर्नु जरुरी रहेकाले दुई ठूला दल मिलेर सरकार गठन गरिएको बताउनुभएको हो ।उहाले वर्तमान सरकारले मुलुकमा देखिएको आर्थिक शिथिलतालाई चिर्दै अर्थतन्त्रलाई चलायमान बनाउने, मुलुकमा दिगो शान्ति कायम गर्दै गतिशिल अर्थतन्त्रका माध्यमबाट देशभित्रै रोजगारीका अवसरहरु सिर्जना गर्ने बताउनुभयो । यसबाट राजश्वमा थप वृद्धि भइ जनचाहना अनुसारका विकास निर्माणका काम गर्न पनि सकिने उहाले बताउनुभयो ।सभापति देउवाले संविधान संसोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समाबेशीतालाई थप सुदृढ गरिने भन्दै संविधान संसोेधन गर्दा सबै राजनीतिक दलहरु बीच सम्बाद र सहमति कायम गर्ने जिकिर गर्नुभयो ।उहाले प्रधानमन्त्री ओलीको नेतृत्वमा मुलुकले उन्नतिको नयाँ बाटो समात्ने विश्वास व्यक्त गर्नुभयो । राजनीतिलाई स्थिरताको बाटोतर्फ उन्मुख गराउनका लागि गठन भएको सरकार सफल हुने भन्दै सात बुँदे सहमतिको कार्यान्वयन प्रति कांग्रेस दृढ रहेको उहाले बताउनुभयो ।




























