पोखरा| सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि वीरगन्ज पुर्याइएको छ ।प्रहरीका अनुसार उनलाई पोखराबाट काठमाडौँ र काठमाडौँबाट प्लेनमा सिमरा हुँदै वीरगन्ज ल्याइएको हो । सहकारी ठगी प्रकरणमा पर्सामा पनि उनीविरुद्ध पक्राउ पुर्जी भएकाले बयानका लागि यहाँ ल्याइएको प्रहरीले जनाएको छ ।लामिछानेलाई गत कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालय काठमाडौंबाट पक्राउ गरी कास्की ल्याइएको थियो । लामिछानेमाथि अनुसन्धानका लागि सुरुमा ६ दिन, त्यसपछि ७ दिन, १० दिन, १३ दिन, १५ दिन र आइतबार ४ दिन म्याद थप गरिएको हो ।जीवी राई नेतृत्वको सहकारीहरूबाट ग्यालेक्सी टेलिभिजनमा लगानी गर्दा उनी पनि संलग्न भएको उजुरी पछि उनलाई कास्की प्रहरीले पक्राउ गरेको हो । त्यसपछि सोही प्रकरणमा कास्कीसहित रूपेन्देही, काठमाडौँ, चितवनमा बयान दिइसकेका छन् । अब उनलाई पर्सामा बयान लिइनेछ ।