
काठमाडौं ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले सौर्य एयरलाईन्सको जहाज दुर्घटना तथा बस दुर्घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने बताए । प्रधानमन्त्री केपी शर्मा ओलीसंग प्रश्न गर्दै उनले यो दुर्घटनाको नैतिक जिम्मेवारी लिएर आफ्नो नैतिकता प्रदर्शन गर्नुपर्ने सुझाव समेत उनले दिए ।प्रतिनिधिसभाको आज बसेको बैठकमा शून्य समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका आजपा अध्यक्ष साहले दुर्घटनाको नैतिक जिम्मेवारी लिदै मन्त्रीले राजिनामा दिनुपर्ने बताए । यस्तो दुर्घटना हुँदा एउटा छानविन समिति बनाउँने र निरिह कर्मचारीलाई कारवाही गरेर मात्रै नहुने बताउँदै उनले प्राधिकरणलाई अस्तव्यस्त बनाउँने मन्त्रीले किन राजिनामा दिनुहँुदैन भन्ने प्रश्नको जवाफ समेत उनले माग गरे ।यही साउन ९ गते काठमाडौंमा भएको सौर्य एयरलाईन्सको जहाज दुर्घटनाका साथै दुई साता अघि सिमलतालमा भएको दुर्घटनाको नैतिक जिम्मेवारी सम्बन्धी मन्त्रीले लिनुपर्ने र उनीहरुले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने उनले सुझाव दिए ।‘यसको जिम्मा कसले लिने ? निरन्तर जहाज दुर्घटना भइराख्ने तर, यसको जिम्मा कसैले नलिने ? छानबिन समिति बनाउने र साना कर्मचारीलाई दोषी देखाउने ? ती प्राधिकरण र युनिटकाहरु मात्रै जिम्मेवार हो कि त्यो युनिट र प्राधिकरणलाई अस्तव्यस्त बनाउने सरकार पनि जिम्मेवार हो ?’ साहले प्रश्न गर्दै भने ।उनले सरकार बास्तवमा जनउत्तरदायी हो भने जहाज दुर्घटनाको नैतिक जिम्मेवारी लिनुपर्ने बताए । ‘यसमा सरकार जवाफदेही हुन्छ कि हुँदैन ? म सम्मानिय प्रधानमन्त्रीजीलाई सोध्न चाहन्छु, यसको नैतिक जिम्मेवारी सरकारले लिँदैन भने कल्ले लिने हो ?’ उनले प्रश्न गरे । सो अवसरमा उनले जहाज दुर्घटनालगत्तै सरकारले उद्धार तथा राहतको लागि तदारुकता देखाएकोमा धन्यवाद ज्ञापन गरे । साथै बस दुर्घटनामा सरकार जिम्मेवार तरिकाले नलागेकोमा आपती समेत व्यक्त गरे ।सिमतालमा भएको बस दुर्घटनाको घट्नाको विषयमा पीडित परिवारलाई राज्यले बेवास्ता गरेको उनको आरोप थियो । उनले अहिलेसम्म २५ जनाको मात्रै शव भेटिएको र बाँकी शवको पनि टुँगो नलागेकोमा राज्य त्यहाँ नदेखिएको गुनासो पोखे । पीडित परिवारलाई उचित क्षतिपूर्ति दिने सवालमा पनि राज्य चुकेको उनको आरोप छ । पीडित परिवारले राज्यबाट कुनै क्षतिपुर्ति नपाउँनुका साथै विमाको रकम पाउँन पनि पीडित परिवार हारगुहार गरिरहेको तर सरकारले नसुने जस्तो गरेको उनले बताए ।यसैगरी आजपा अध्यक्ष साहले बोलबम कवरियालाई पनि सरकारले हेला गरेको गुनासो गरेका छन् । मेला तथा महोत्सवको नाममा सरकारले लाखौं खर्च गर्ने गरेको भएपनि भगवान शिवका भक्त बोलबम कवरियाहरुलाई भने उपेक्षा गरिएको उनको आरोप छ । बोलबम कवरियालाई संरक्षण गर्ने, व्यवस्थापन गर्ने, सुरक्षा गर्ने लगायतको जिम्मेवारी सरकारले लिनुपर्ने उनले बताए । संस्कृतिकको जगेर्ना गर्ने काम सरकारको भए पनि सरकार आफ्नो जिम्मेवारीबाट भाग्न खोज्नु आपतीको बिषय भएको उनले बताए ।




























