
काठमाडौं । प्रधानन्यायाधीश तथा सर्वोच्च अदालतका न्यायाधीशहरूको नाम जोडेर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति सर्वोच्च अदालतको पूर्ण बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैठकले पाँचबुँदे निर्णय सार्वजनिक गर्दै सम्बन्धित विषयमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न आग्रह गरेको हो ।सर्वोच्च अदालतद्वारा जारी प्रेस विज्ञप्तिमा संविधान र कानुनको सर्वोच्चताप्रति आफ्नो अटल आस्था तथा प्रतिबद्धता रहेको उल्लेख गरिएको छ । साथै, सबैलाई संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन आग्रह गरिएको छ ।सार्वजनिक रूपमा प्रकाशित तथा प्रसारित विषयमा कुनै पूर्वाग्रह नराखी संविधान र कानुनबमोजिम निष्पक्ष तथा स्वतन्त्र छानबिन गर्न सम्बन्धित निकायलाई अदालतले अनुरोध गरेको छ । छानबिनबाट प्राप्त सत्यतथ्यसहितको निष्कर्ष यथाशीघ्र सार्वजनिक गर्न पनि आग्रह गरिएको छ ।त्यसैगरी, सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारका सम्बन्धमा हुने कानुनी छानबिन र अनुसन्धानमा सहयोग गर्न आफूहरू प्रतिबद्ध रहेको अदालतले जनाएको छ । संविधान तथा कानुनबमोजिम निर्वाह गर्नुपर्ने जवाफदेहिता पूरा गर्ने प्रतिबद्धतासमेत विज्ञप्तिमा व्यक्त गरिएको छ ।न्यायपालिका जनताको आस्था र विश्वासमा आधारित संस्था भएकाले यससँग सम्बन्धित समाचार प्रकाशन तथा प्रसारण गर्दा आम नागरिक र सेवाग्राहीमा भ्रम सिर्जना हुने वा नकारात्मक असर पर्ने अवस्था आउन नदिन पनि अदालतले सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।



























