
काठमाडौं । बचत रकम फिर्ता नपाएर एक सहकारी पीडितको मृत्यु भएपछि सहकारी पीडितहरूले नक्कली शव बोकेर विरोध प्रदर्शन गरेका छन् ।आर्थिक अभावका कारण अस्पतालमा उपचाररत एक सहकारी पीडितको निधनपछि आन्दोलनरत सहकारी पीडितले सांकेतिक विरोध प्रदर्शन गरेका हुन् ।स्थापितको न्यूरोडस्थित युवा विकास बहुउद्देश्य सहकारी संस्था लिमिटेडबाट ठगिएका उनका आफन्त र साथीहरूले बताएका छन्। सहकारीका अध्यक्ष विवादास्पद छविका व्यवसायी ‘अलाइभ ग्लाइडर’ भनिने किसन राई हुन्।मस्तिष्कघात भएपछि उपचारका लागि वीर अस्पताल पुर्याइएका स्थापितको अस्पतालमा राख्नुपर्ने धरौटी रकम राख्न नसक्दा उपचारमा ढिलाइ भएर निधन भएको हो ।स्थापित पछिल्लो एक वर्षभन्दा लामो समयदेखि सहकारीको बचत रकम फिर्ता गर्न माग गर्दै आन्दोलनमा थिए ।राजेन्द्रकी श्रीमती जसबाटी बाबा बज्राचार्यले बैंकमा राखेको १ करोड ३३ लाख रुपैयाँ झिक्न लगाएर राईलगायतले सहकारीमा राख्न लगाएको पीडितका आफन्तले बताएका छन् ।स्थापित लामो समयदेखि बिरामी परेका र उपचारका लागि पाँच लाख रुपैयाँ भए पनि जम्मा गरिदिन आग्रह गर्दासमेत सञ्चालक राईले नटेरेको बुझिएको छ । स्थापितको एक करोडबढी सहकारीमा भएपनि उपचार गर्न पाँच लाख रुपैयाँ नभएकै कारणले मृत्यु भएको सहकारी पीडितका आन्दोलनका अगुवा कुशलभ श्रेष्ठले बताए ।उनले भने, ‘उहाँलाई आफ्नै ज्यानको उपचार गर्ने पैसा समेत उहाँ आवद्ध सहकारीले खाएका कारण आज मृत्यु भएको छ । सरकारले सोह्र महिनादेखि निरन्तर गरेको सम्झौता कार्यान्वयन आएको छैन । हामी आन्देलन गर्न थालेको आज ८० दिन हुँदा समेत कार्यान्वयनमा आएको छैन ।’स्थापितको मृत्युपछि सहकारी पीडित र आफन्तहरुले सडकमा शव राखेर विरोध प्रदर्शन गरेका छन् । उनीहरुले मृतक र सहकारी पीडितले न्याय पाउनुपर्ने माग राख्दै रत्नपार्कमा प्रदर्शन गरेका छन् ।नेपाल न्युज बैंक




























