
ढाका, साउन २८ गते । बङ्गलादेशको अन्तरिम सरकारका गृहमन्त्री सखावत हुसेनले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको अवामी लिग पार्टीमाथि प्रतिबन्ध लगाउने सरकारको कुनै मनसाय नरहेको बताउनुभएको छ ।“आवामी लिग पार्टीले बङ्गलादेशका लागि धेरै योगदान गरेको छ, हामी यसलाई इन्कार गर्दैनौं,” गृहमन्त्री सखावत हुसेनले भन्नुभयो, “निर्वाचनमा लिगले चुनाव लड्नुपर्छ ।”गृहमन्त्रीको यो भनाइ बङ्गलादेशका पूर्व प्रधानमन्त्री शेख हसिना वाजेदका छोरा सजीब वाजेदले आइतबार निर्वाचन बिना यही अवस्था लम्बिएमा देश अराजकतातर्फ जाने चेतावनी दिएको एक दिनपछि आएको हो ।आवामी लिगका नेता ७६ वर्षीया शेख हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिई गत सोमबार मित्र राष्ट्र भारततर्फ गएका थिए । पूर्वप्रधानमन्त्री हसिनाको सरकारमाथि १५ वर्षे कार्यकालका क्रममा उनका हजारौं राजनीतिक विरोधीहरूको गैरन्यायिक हत्यासहित व्यापक मानव अधिकार उल्लङ्घनको आरोप लगाइएको छ ।वाजेदले करिब १७ करोड जनसङ्ख्या रहेको बङ्गलादेशमा राजनीतिक भविष्यका लागि हसिनाको दल अवामी लिग महत्त्वपूर्ण रहेको दावी गर्नुभएको थियो ।“हामीसँग दशौं लाख अनुयायीहरू छन् । उनीहरू कतै जाँदैनन्”, उहाँले एएफपीसँगको अन्तर्वार्तामा भन्नुभयो, “अवामी लिगबिना बङ्गलादेशमा प्रजातन्त्र स्थापना गर्न सकिँदैन। कम्तीमा देशका आधा जनताले यसलाई कहिल्यै स्वीकार गर्ने छैनन् ।” रासस/एएफपी




























