
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को १८ केन्द्रीय पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ। उपाध्यक्ष, उपमहासचिव र सचिव टुंगो लगाउन समाजवादीले निर्वाचन गरेकोमा बुधबार बिहान निर्वाचनको सबै परिणाम सार्वजनिक भएको हो । जसअनुसार महिला उपाध्यक्ष पदमा जयन्ती देवी राई निर्वाचित हुनुभएको छ । उहाँले नेतृ रामकुमारी झाँक्रीलाई पराजित गर्नुभएको हो । उपाध्यक्ष (मधेसी समुदाय) पदमा धर्मनाथ प्रसाद साह निर्वाचित हुँदा खुला उपाध्यक्ष पदमा डा गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित हुनुभएको छ । यसैगरी उपमहासचिव पदमा रामकुमार भट्टराई, मेटमणि चौधरी, गरिमा शाह र राजेन्द्रकुमार राई निर्वाचित हुनुभएको छ । सचिव (दलित समुदाय) पदमा गणेश बहादुर विश्वकर्मा, सचिव (आदिवासी जनजाती) पदमा बलदेव चौधरी, सचिव खुलामा श्रनाथ बराल, शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डेय, सावित्राकुमारी भुसाल विजयी हुनुभएको छ । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे यसअघि नै सर्वसम्मत चुनिनुभएको थियो । दशौँ महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन हुनुभएको थियो । यस्तै वरिष्ठ उपाध्यक्षमा मंगलबार नै राजेन्द्र पाण्डे सर्वसम्मत चुनिनुभएको थियो । यससँगै एकीकृत समाजवादीको पदाधिकारीले पूर्णता पाएको छ।




























