
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले–कांग्रेसले सरकार परिवर्तनका लागि संविधान संशोधनलाई कथा बनाएको टिप्पणी गर्नुभएको छ ।संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्चले सोमबार काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको संविधान कार्यान्वयनः अपेक्षा र वास्तविकता बिषयक कार्यक्रममा प्रचण्डले कांग्रेस र एमालेले संविधान संशोधनलाई एजेण्डाको रुपमा नभई सरकार परिवर्तनको कथा र बहानाको रुपमा उठाएकाले यसप्रति उनीहरु गम्भीर नभएको बताउनुभएको हो । वर्तमान संविधान शान्ति सम्झौताको अंग भएकाले शान्ति सम्झौताको हस्ताक्षरकर्ता दल र नेतासँग नै लुकाएर संविधान संशोधनको सहमति गर्नुको कुनै राजनीतिक अर्थ नभएको उहाँले बताउनुभयो ।त्यस्तै प्रचण्डले कथा र बहाना नभई एजेण्डाका हिसाबले अघि सार्ने हो भने संविधान संशोधन आवश्यक रहेको जिकिर गर्नुभयो । संविधान बनाउँदा माओवादी एजेण्डा स्वीकार गरेका नेताहरुले अहिले कार्यान्वयनमा पनि इमान्दारिता नदेखाएको उहाको भनाइ छ ।प्रचण्डले संघीय निजामति ऐन संसदसम्म पुर्याउन १८ महिना लागेको र प्रहरी समायोजन ऐन बन्दा पनि कार्यान्वयनमा लैजान आनाकानी गरिरहेको बताउनुभयो । उहाँले अहिलको संविधान शान्ति सम्झौताको अंग भएकाले संशोधनको चर्चा गर्दा शान्ति सम्झौताको पक्षमा पनि विचार गर्नुपर्ने बताउनुभयो ।प्रचण्डले अब विभिन्न समुदायले पाएको समानुपातिक समावेशी अधिकार नखोस्ने गरी राजनीतिक स्थायित्व र भ्रष्टाचार अन्त्यका लागि शासकीय स्वरुप र निर्वाचन प्रणाली परिवर्तन गर्नतिर जोड गर्नुपर्ने धारणा राख्नुभयो । उहाले संविधान निर्माणको मुख्य पहलकर्ता र शान्ति सम्झौताको एक हस्ताक्षरकर्ताको हैसियतले संविधानलाई बढी सर्वस्वीकार्य बनाउन पहल गर्ने जिकिर गर्नुभयो ।




























