
काठमाडौं | अविरल वर्षाका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकास्थित विभिन्न स्थानमा सडक नै बगाएपछि अलपत्र परेका यात्रु तथा विरामीको नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको छ ।धुलिखेलबाट पानी, खाद्यान्नसहितका राहत सामग्री बोकेर त्यसतर्फ गएको नेपाली सेनाको हेलिकोप्टरले सयौंको संख्यामा अलपत्र परेका यात्रु तथा विरामीहरुको उद्दार गरेको हो । उनीहरुलाई उद्दार गरि धुलिखेल अस्पतालमा ल्याइएको रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले जानकारी दिनुभयो । त्यस्तै पहिरोमा परेकाहरुलाई पनि हेलिकोप्टरमार्फत उद्दार भइरहेको उहाले बताउनुभयो ।दुईदिनको अविरल वर्षाका कारण बाढी–पहिरोमा परी काभ्रेपलाञ्चोकमा ३० जनाको मृत्यु भएको जनाइएको छ । रोशी गाउँपालिकामा ११, तेमालमा १०, चौँरीदेउरालीमा पाँच, भुम्लुमा दुई, बेचानचोक र बनेपा नगरपालिकामा एक–एकजनाको मृत्यु भएको छ । पनौती–११ स्थित थुम्कीमा भण्डारी परिवारको एक घर पहिरोले बगाउँदा चारजना बेपत्ता भएको प्रहरीले जनाएको छ ।




























