
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली र उनको नेतृत्वमा रहेका मन्त्रीहरुलाई सार्वजनिक रूपमै बहिष्कार गर्न नागरिकसमक्ष अपिल गरेका छन् ।
बाढीपहिरोको विपत्तिले सयौंको संख्यामा नागरिकले ज्यान गुमाएको र अझै दर्जनौं बेपत्ता रहेको अवस्थामा सरकार लुकेर बसेको भन्दै साहले सार्वजनिक रूपमै प्रधानमन्त्री ओली र मन्त्रीहरुलाई बहिष्कार गर्न भनेका छन् ।चाडपर्वको मुखमा प्राकृतिक विपत्तिमा परेर नागरिकको निधन हुँदापनि प्रधानमन्त्री ओली भने बालुवाटारको खोपीमा मस्त बनेको साहको आरोप छ ।आज (बिहीबार) काठमाडौंमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा साहले अहिले मुलुकमा सरकार नै नभएको आभाष भएको बताए ।उनले देशमा नागरिक मर्दा विदेश शयर गर्ने, स्वदेश फर्किएपछि विपत्तिलाई मजाक गरेर उडाउने र बालुवाटारको खोपीमा मात्रै बस्ने प्रधानमन्त्री जनतालाई नचाहिएको बताए ।‘देशमा अहिले सरकार छैन् । नागरिकले यत्रो विपत्ति सामना गर्नुपरेको छ । सयौंको संख्यामा नागरिकले ज्यान गुमाएको अवस्था छ, तर प्रधानमन्त्री र मन्त्रीहरु कहीँकतै देखिनुभएन । पीडितहरुले सरकार सरकार भनेर गुहारेको अवस्था छ । तर, सरकारका कोहीपनि मन्त्रीहरु मैले प्रभावित क्षेत्र र पीडितहरुको घरमा पुगेको देखिनँ । यो सरकार खासगरी प्रधानमन्त्री ओलीसँग मानवीय समवेदना भन्ने चिज रहेनछ । उहाँ एकदमै निर्दयी देखिनुभयो’ आजपा अध्यक्ष साहले भने ।देशमा यत्रो प्राकृतिक विपत्ति आउँदा र नागरिकले ज्यान गुमाईरहँदा प्रधानमन्त्री ओली अमेरिकामा अनावश्यक रूपमा बसेर दिन काटेको भन्दै साहले आलोचना गरे ।घट्ना घटेको यत्तिका दिन बितिसक्दापनि सरकारका प्रत्यक्ष सरोकार राख्ने गृहमन्त्री, रक्षामन्त्रीहरु घट्नास्थलमा नपुग्नु दुःखद् विषय भएको उनको टिप्पणी छ ।उनले भने,‘पीडितहरुलाई बरु सहयोग गर्न सामाजिक संघ/संस्थाको उपस्थिति देखिएको छ। तर, सरकार देखिएन । सरकारका मन्त्रीहरु काठमाडौंमा मस्त छन् । उनीहरुमा कुनै संवेदनशीलता देखिएन । यस्तो सरकार र मन्त्रीहरु जनतालाई किन चाहियो ? अब सार्वजनिक रुपमै बहिष्कार गर्नुपर्छ ।’




























