
जुम्ला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि हुदै गएको बताउनुभएको छ ।सोमबार प्रेस सेन्टर जुम्लाले जुम्लाको सिंजा कनकासुन्दरीमा गरेको पत्रकार भेटघाटमा प्रचण्डले आफूले सरकार गठन भएदेखि नै यो सरकार भ्रष्टाचारीलाई बचाउन बनेको हो भन्दै आएको र अहिले त्यो आरोप प्रधानमन्त्री स्वयंले पुष्टि गरेको बताउनुभयो ।अदालतमा मुद्दा चलिरहेको व्यवसायीबाट पार्टी कार्यालयका लागि जग्गा दान लिने जस्तो कार्य गरेर प्रधानमन्त्री आफैले यो सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेको उहाले बताउनुभयो । उहाँले अब सरकार गठन भएको सय दिन पूरा भएपछि बिरोधका कार्यक्रम सुरु गर्ने जानकारी पनि दिनुभयो ।प्रचण्डले आफ्नो नेतृत्वको सरकारले देशभित्र भ्रष्टाचारका विरुद्ध, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा काम गर्दा संसदका पहिलो र दोस्रो दलले अस्वभाविक र अप्राकृतिकरुपमा आफूलाई हटाएको बताउनुभयो ।उहाँले आफूले सरकारको नेतृत्व गरेको बेलामा देशभित्र जनताको आशा जगाउँदै विश्व समुदायमाझ पनि नेपालको प्रतिष्ठा प्रवर्धनलाई अघि बढाएको बताउनुभयो ।




























