
चितवन । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले विधि प्रक्रिया पूरा गरेर सहकारी पीडितलाई राहत दिने र दोषीलाई कानूनको दायरामा ल्याउने बताउनुभएको छ ।बिहिबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै सिंहले नागरिकको बचतमा बदमासी गर्ने दोषीहरुले कुनै हालमा उन्मुक्ति नपाउने समेत बताउनुभयो ।उहाँले मन्त्रिपरिषद्बाटै सहकारीको विषय हल गर्न अध्यादेश ल्याउने निर्णय भइसकेको बताउनुभयो । उपप्रधानमन्त्री सिंहले आफूहरु सरकारमा आएपछि विधिको शासनअनुसार देश अघि बढिरहेको भन्दै गल्ती गर्ने कसैले पनि उन्मुक्ति नपाउने दाबी गर्नुभयो । रास्वपाकै सदस्य सहभागि संसदीय समितिको सिफारिसका आधारमा लामिछानेमाथि छानविन अघि बढिरहेको पनि उहाँले बताउनुभयो । उहाले वर्तमान सरकार उदेश्य अनुसार नै अघि बढिरहेकाले आगामी निर्वाचनसम्म वर्तमान गठबन्धन कायम रहने उल्लेख गर्नुभयो ।चितवनको सौराहामा आयोजित हात्ति महोत्सवमा सहभागि हुन चितवन पुग्नुभएका उपप्रधानमन्त्री सिंहले महोत्सवहरुले आर्थीक गतिविधि बढाउने बताउनुभयो ।




























