
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बू क्षेत्रमा बाढीले पुर्याएरको क्षतिको पुनर्निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।मेलम्ची र हेलम्बु क्षेत्रको आज स्थलगत अनुगमन गर्दै उनले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा सरकारले काम गर्ने बताएका हुन्।उनले मेलम्ची र हेलम्बू क्षेत्रमा सिँचाइ व्यवस्थापन गर्न विशेष योजना अघि बढाउने घोषणा गरे । ‘बाढीपछिको हेलम्बू, मेलम्चीको पुनर्निर्माणको लागि म प्रतिबद्ध छु, यो ऐतिहासिक ठाउँको विकासमा सबै मिलेर अगाडी बढौँ,’ उनले भने ।ऊर्जामन्त्री खड्काले पहाडी क्षेत्रका उर्वर भूमिको सदुपयोग गर्न सिंचाइ व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताए । ‘सिन्धुपालचोक इन्द्रावती गाउँपालिका–भीमटारमा रहेका २२ वटा टारमा इन्द्रावती नदीको पानी ल्याएर सिंचाइका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार अघि बढाइनेछ,’ उनले भने ।




























