
काठमाडौं । सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताहरूको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने अडान कायमै राखेको छ ।आज बसेको संसदीय दलको बैठकले प्रश्न उठेपछि छानविनलाई सघाउन मार्गप्रश्स्त गर्नुपर्ने निर्णय गरेको उपमहासचिव वर्षमान पुनले बताए ।उनले भने, ‘भोलि(मंगलबार)को संसदको अवरोध यथावत रहन्छ । गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेर विपक्षीले मात्रै भनिरहेको छैन । आम मिडिया र जनसमूदायले भनिरहेको छ । भिजिट भिसा प्रकरणमा सेटिङ भएको छ । को संलग्न छ भन्ने कुरा त छानबिनले देखाउँछ । छानबिनको लागि उहाँले मार्गप्रशस्त गर्नुपर्छ भन्ने दलको निष्कर्ष छ ।’प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको छलफलमा सहभागी माओवादी सांसद हितराज पाण्डेले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुरा आफ्नो पार्टीले राखेको जानकारी दिए ।साथै माओवादी बैठकले गृहमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ । त्यस्तै सरकारले ल्याएको आगामी वर्षको बजेट आधारभूत वर्गलाई नछोएको माओवादीले निष्कर्ष निकालेको छ ।




























