
काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई राहत दिन बचत रकम फिर्ता प्रक्रिया सुरु गरेको छ । पहिलो चरणमा तीन वटा सहकारीका ३ सय ७८ जना बचतकर्ताले आफ्नो रकम फिर्ता पाएका छन् ।समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार कान्तिपुर सहकारीका २ सय १५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ तथा पशुपति सहकारीका ७ जना साना बचतकर्तालाई रकम फिर्ता गरिएको हो ।समितिले पहिलो दिन न्यून बचत भएका बचतकर्ताबाट भुक्तानी सुरु गरिएको जनाएको छ । आगामी दिनमा बचत रकमको आधारमा वर्गीकरण गर्दै चरणबद्ध रूपमा रकम फिर्ता गरिने बताइएको छ ।हाल समस्याग्रस्त सहकारीमा करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी रहेको समितिको तथ्यांक छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् ।पाँच लाख रुपैयाँभन्दा कम बचत भएका व्यक्तिलाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचत गर्नेहरुलाई ठूला बचतकर्ताको रूपमा वर्गीकरण गरिएको छ । कुल बचतकर्तामध्ये १८ हजार जनाले पाँच लाखभन्दा बढी रकम बचत गरेको समितिले जनाएको छ ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावल ले बचत फिर्ता प्रक्रियासँगै सहकारीहरूको ऋण असुली कार्य पनि तीव्र पारिएको बताइन् ।उनका अनुसार ऋणीहरूको नाम सार्वजनिक हुन थालेपछि ऋण फिर्ता गर्ने क्रम बढेको छ । समितिका अनुसार हालसम्म समस्याग्रस्त सहकारीका ऋणीबाट २ करोड रुपैयाँभन्दा बढी रकम असुल गरिएको छ ।समितिले ऋण असुली र बचत फिर्ता प्रक्रिया सँगसँगै अघि बढाइने जनाएको छ ।


























