
काठमाडौं । आरिफ सेख र दीपेन्द्रसिंह ऐरीले मध्यक्रम सम्हालेपछि आईसीसी टी–२० विश्वकप २०२६ को पहिलो वार्मअप खेलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध सात विकेटको सहज जित निकालेको छ ।मंगलबार मुम्बईमा भएको खेलमा यूएईले प्रस्तुत गरेको १४६ रनको लक्ष्य नेपालले १७ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।नेपालको जितमा आरिफ र दीपेन्द्र अविजित रहे । आरिफले ३७ बलमा आठ चौका र दुई छक्कासहित ६१ रन बनाए । दीपेन्द्रले ३१ बलमा चार चौका र एक छक्कासहित ५० रनको अर्धशतकीय इनिङ खेले ।यी दुईले ४५–३ को कठिन स्थितिबाट चौथो विकेटका निम्ति १०३ रनको शतकीय साझेदारी गर्दै नेपाललाई जितसम्म डोर्याएका हुन् ।कप्तान रोहित पौडेलले १६ रन थप्दा दुई ओपनर आसिफ सेख र कुशल भुर्तेल समान आठ रनमा पभेलियन फर्किए ।यूएईका मुहम्मद रोहिदले एक विकेट लिए ।त्यसअघि टस हारेर ब्याटिङमा आएको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४५ रनको योगफल खडा गरेको थियो ।यूएईका सोहैब खानले सर्वाधिक ३८ रन बनाएका थिए । हर्षित कौशिकले ३५, ओपनर आर्यन्स शर्माले २५, मुहम्मद जोहैबले १९ र आलिशान सराफुले १२ रन थपे । नेपालका सन्दीप लामिछाने र करण केसीले समान दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरीको नाममा एक विकेट रह्यो ।




























