
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि कर्णाली प्रदेश पूर्ण रूपमा तयार हुँदै गएको बताएका छन् ।सुर्खेत पुगेर निर्माणाधीन रंगशाला तथा विभिन्न खेल पूर्वाधारको स्थलगत अवलोकन गरेपछि मन्त्री पोखरेलले प्रतियोगिता आयोजनाबारे आश्वस्त रहन आग्रह गरेका हुन् ।अवलोकनका क्रममा उनले आयोजक, स्थानीय पदाधिकारी तथा सरोकारवालासँग पूर्वाधार निर्माणको प्रगति र बाँकी कामबारे छलफल गरेका थिए । निरन्तरको प्रयास र आपसी संवादले निर्माण कार्यलाई गति दिएको उल्लेख गर्दै उनले रंगशाला तथा अन्य खेल संरचनाहरू क्रमशः तयार हुँदै गएको बताए ।मन्त्री पोखरेलले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन अब ३० दिन मात्र बाँकी रहेको घोषणा गर्दै प्रतियोगिताको काउन्टडाउन सुरु भएको जानकारी दिए । लामो समयदेखि विभिन्न कारणले रोकिँदै आएको राष्ट्रिय खेलकुद प्रतियोगिताले कर्णाली प्रदेशको खेल क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने विश्वाससमेत उनले व्यक्त गरे ।सुर्खेत भ्रमणका क्रममा मन्त्री पोखरेलले आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाही र सामाजिक विकासमन्त्री जीतबहादुर मल्लसँग पनि भेटवार्ता गरेका थिए । भेटमा प्रतियोगिताको तयारी, खेल पूर्वाधार निर्माणको अवस्था तथा बाँकी काम समयमै सम्पन्न गर्ने विषयमा छलफल भएको थियो ।



























