
काठमाडौँ। हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक रहेको तल्लो वायुमण्डलीय न्यूनचापीय क्षेत्रको प्रभाव कायम छ। साथै, देशको दक्षिणतिर पूर्व–पश्चिम फैलिएको न्यूनचापीय रेखाले पनि मौसम प्रभावित बनाएको छ, जसका कारण पछिल्ला केही दिनदेखि बदली र वर्षा भइरहेको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशसहित हिमाली तथा पहाडी भूभागका केही स्थानमा, साथै तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ।सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा भने मेघगर्जन र चट्याङसहित भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।रातिको समयमा पनि देशभर बदली कायम रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ भने अन्य प्रदेशका थोरै स्थानमा हावाहुरी, असिना र मध्यम वर्षा हुन सक्ने जनाइएको छ।विभागले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।




























