
काठमाडौँ।नेपालका लागि युरोपेली युनियन (ईयू)का राजदूत भेरोनिक लोरेन्जोको नेतृत्वमा ईयू प्रतिनिधिमण्डलको दुईदिने नेपाल भ्रमण कार्यक्रम सोमबारबाट सुरु भएको छ ।प्रतिनिधिमण्डलमा नेपालका लागि ईयूका २२ आवासीय तथा गैरआवासीय राजदूत र नियोग उपप्रमुख सहभागी छन् ।
काठमाडौं आएलगत्तै उनीहरूले सोमबार परराष्ट्रमन्त्री शिशिर खनाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन् ।“यो भ्रमण बालेन्द्र शाह सरकारलाई भेट्ने तथा ईयू र नेपालबीचको मजबुत सम्बन्धलाई पुनः पुष्टि गर्ने अवसर हो,” काठमाडौंस्थित ईयूको नियोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।ईयूको प्रतिनिधिमण्डलले मंगलबार बिहान १०:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिपषद्को कार्यालयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग सामूहिक शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।ईयूका राजदूतहरूले निजी क्षेत्रका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधिहरू र युवा नेताहरूलाई पनि भेटघाट गर्नेछन् ।
नेपाल आएको ईयू प्रतिनिधिमण्डलमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणराज्य, डेनमार्क, इस्टोनिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जमबर्ग, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्वीडेनका राजदूत र नियोग उपप्रमुखहरू छन् ।


























