
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद पुनर्गठन गर्दै पाँच जना नयाँ मन्त्री नियुक्त गरेका छन्।नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री आचार्यले प्रदेश प्रमुखसमक्ष मन्त्रिपरिषद पुनर्गठनको सिफारिस गरेका हुन्। पुनर्गठनसँगै मन्त्रीहरूको कार्यविभाजनसमेत गरिएको छ।नयाँ मन्त्रिपरिषदमा नेकपा (एमाले) बाट चार जना र जनता समाजवादी पार्टी (जसपा) बाट एक जना मन्त्री समावेश भएका छन्।एमालेबाट तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ।यस्तै, जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त गरिएको छ। यसअघि उक्त मन्त्रालयको जिम्मेवारी जसपाकै आदेशकुमार अग्रवालले सम्हाल्दै आएका थिए। अग्रवालको स्थानमा अहिरलाई मन्त्री बनाइएको हो।मुख्यमन्त्री आचार्यले सरकारको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रिपरिषद पुनर्गठन गरिएको जनाइएको छ।



























