
काठमाडौँ । मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसीए) नेपाल विकास समितिले अमेरिकी सहयोग परियोजना एमसीसीअन्तर्गत रातमाटे, नयाँ दमौली र नयाँ बुटवल क्षेत्रलाई जोड्ने विद्युत् प्रसारण पूर्वाधार निर्माण कार्य औपचारिक रूपमा शुभारम्भ गरेको छ।परियोजनाअन्तर्गत रातमाटे र नयाँ दमौली सबस्टेशनसहित २९७ किलोमिटर लामो उच्च क्षमताको विद्युत् प्रसारण लाइन निर्माण गरिनेछ। अमेरिकाबाट प्राप्त ५५ करोड अमेरिकी डलर अनुदान तथा नेपाल सरकारको १९ करोड ७० लाख अमेरिकी डलर लगानीमा आयोजना कार्यान्वयन हुन लागेको हो।यस परियोजनामा तीन वटा ४०० केभी क्षमताका आधुनिक सबस्टेशन तथा करिब ३१५ किलोमिटर प्रसारण लाइन निर्माण गर्ने लक्ष्य राखिएको छ। यसले राष्ट्रिय विद्युत् प्रसारण प्रणालीलाई थप सुदृढ बनाउने, विद्युत् आपूर्तिमा हुने अवरोध घटाउने तथा घरायसी र औद्योगिक क्षेत्रलाई भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।परियोजनाअन्तर्गत लप्सीफेदी–रातमाटे–नयाँ हेटौंडा, रातमाटे–नयाँ दमौली तथा नयाँ दमौली–नयाँ बुटवल प्रसारण लाइन खण्ड निर्माण गरिनेछ। यस पूर्वाधारले नेपाललाई क्षेत्रीय विद्युत् व्यापार तथा ऊर्जा बजारमा थप सक्रिय रूपमा सहभागी हुन सहयोग पुग्ने विश्वास गरिएको छ।नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले परियोजनाले नेपालमा भरपर्दो विद्युत् आपूर्ति सुनिश्चित गर्दै उद्योग र कृषि क्षेत्रको उत्पादन वृद्धि गर्न सहयोग पुर्याउने बताए। एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन फ्रान्सिस्कोले यस आयोजनाले नेपालको ऊर्जा क्षेत्रलाई दीर्घकालीन रूपमा मजबुत बनाउने धारणा व्यक्त गरे।त्यसैगरी, नेपाल विद्युत् प्राधिकरणका कार्यवाहक कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले यो आयोजना राष्ट्रिय प्रसारण सञ्जाल विस्तारको महत्वपूर्ण हिस्सा भएको बताए। एमसीए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले परियोजना नेपालको ऊर्जा पूर्वाधार विकासका लागि कोशेढुंगा सावित हुने उल्लेख गरे।निर्माण कार्य चार वटा निर्माण कम्पनीमार्फत अघि बढाइने जनाइएको छ। आयोजना सम्पन्न भएपछि निर्माण हुने सबस्टेशनहरू देशकै उच्च क्षमताका सबस्टेशनमध्ये पर्नेछन्। यसले बढ्दो ऊर्जा माग व्यवस्थापन गर्न, विद्युत् प्रणालीको विश्वसनीयता अभिवृद्धि गर्न तथा देशको आर्थिक वृद्धिलाई गति दिन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।



























