काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रदेखि गाउँसम्म अब विभाजित भएर चुनावमा जाने छुट कसैलाई नभएको बताएका छन्। नयाँ वर्षको शुभकामना दिँदै नेता कोइरालाले केन्द्रदेखि गाउँसम्म विभाजित भएर चुनावमा जाने छुट कसैलाई नभएको बताएका हुन्।मतभेद र मनभेदहरू पार्टीको आन्तरिक जीवनको विषय भएकाले त्यसलाई पार्टी भित्रै छलफल, बहस र छिनोफानो गर्नुपर्ने उल्लेख गरेका छन्। विरोधीहरू बलिया र संगठित रहेकोले व्यक्तिगत महत्वाकांक्षा र स्वार्थ त्यागेर एक भएर निर्वाचनमा जानुपर्ने आवश्यकता उनले औँल्याए।‘हामीबीचका मतभेद र मनभेदहरू पार्टीको आन्तरिक जीवनको विषय हो र त्यसविरुद्ध हामी पार्टीभित्रै छलफल, बहस र छिनोफानो गर्दै गरौँला,’ उनले भनेका छन्, ‘उम्मेदवार तय गर्दा निष्पक्षताका लागि हामी लड्ने छौँ। तर, प्रत्येक अनुकूल र प्रतिकूल परिस्थितिमा पनि हामी व्यक्तिगत महत्वाकांक्षा र स्वार्थलाई त्यागी एक भएर विरोधीसँग लड्नेछौँ भनी प्रण गर्नु आजको आवश्यकता हो।’पार्टीभित्र भएका अन्यायपूर्ण निर्णय, काखा र पाखा गरिने प्रवृत्तिविरुद्ध संघर्ष गरिरहने दाबी पनि गरेका छन्। उम्मेदवार तय गर्दा निष्पक्षताको लागि लड्ने उद्घोष गरेका छन्। इतिहासले फेरी एक पटक कांग्रेसलाई नवजीवन सञ्चार गर्ने गहन जिम्मेवारी सुम्पिएको उल्लेख गर्दै स्थानीय निर्वाचनबाटै कांग्रेसको विजयी अभियानको सारथी बन्न आग्रह गरेका छन्।