
यो बजेटबाट नत किसान नत बेरोजगार युवा नत उद्यमी व्यापारी नत शेयर कारोबारी नै खुशी छन् । बजेटबारे सबैभन्दा ठूलो प्रश्न यसको सफलताभन्दा पनि यसको केन्द्रमा वास्तवमा को छ भन्ने विषयमा उठिरहेको छ ।
स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटबारे विभिन्न कोणबाट बहस भइरहेको छ। कसैले यसलाई यथार्थमा आधारित र जिम्मेवार भनेका छन् भने धेरैले यसलाई जनअपेक्षाअनुसार परिवर्तनकारी बनाउन नसकेको टिप्पणी गरेका छन्। मेरो दृष्टिमा पनि यो बजेट पूर्ण रूपमा असफल भन्न मिल्दैन, तर यसले समाजका कुन वर्गलाई केन्द्रमा राखेको छ भन्ने प्रश्नको स्पष्ट उत्तर दिन गाह्रो हुन्छ।दुई तिहाइ बहुमतको समर्थन पाएको सरकार सामान्य राजनीतिक परिस्थितिबाट जन्मिएको सरकार होइन। यो व्यवस्था, भ्रष्टाचार, बेरोजगारी, महँगी र अवसरको अभावप्रति जनतामा बढेको असन्तुष्टिको परिणामस्वरूप बनेको सरकार हो। विशेष गरी युवा, विद्यार्थी, किसान, श्रमिक र मध्यम तथा निम्न आय भएका नागरिकहरूले परिवर्तनको आशा राखेर यो सरकारलाई समर्थन गरेका थिए । त्यसैले सरकारले ल्याउने पहिलो बजेटप्रति जनताको अपेक्षा स्वाभाविक रूपमा धेरै थियो। तर बजेट सार्वजनिक भएपछि समाजका विभिन्न समूहमा त्यस्तो उत्साह देखिएन। रोजगारीको खोजीमा विदेशिन बाध्य युवाले आफ्नो भविष्यबारे कुनै ठूलो आशाको संकेत पाएनन् । उपचारको अभावमा पीडित नागरिकले स्वास्थ्य क्षेत्रमा कुनै क्रान्तिकारी सुधारको अनुभूति गर्न सकेनन् । विद्यार्थीले गुणस्तरीय शिक्षा र अनुसन्धानका लागि पर्याप्त प्राथमिकता देखेनन् । किसानले पनि उत्पादन, भण्डारण र बजार व्यवस्थापनमा व्यापक परिवर्तन ल्याउने स्पष्ट योजना भेटेनन् । न यो बजेटबाट शेयर कारोवारी नै उत्साहित हुन सके । त्यसैले यो बजेटले आशा जगाउनुभन्दा बढी प्रतीक्षा गर्न बाध्य बनाएको अनुभूति हुन्छ।विशेष गरी शिक्षा, अनुसन्धान, विज्ञान तथा प्रविधि जस्ता दीर्घकालीन क्षेत्रलाई पर्याप्त महत्त्व नदिनु बजेटको कमजोरी मान्न सकिन्छ। कुनै पनि राष्ट्रको समृद्धि सडक र भवनले मात्र सम्भव हुँदैन । त्यसका लागि ज्ञान, सीप, अनुसन्धान र उत्पादनशील जनशक्ति आवश्यक हुन्छ । नेपालजस्तो देशमा विद्यालय, विश्वविद्यालय, अनुसन्धान केन्द्र र प्राविधिक शिक्षामा ठूलो लगानी हुनुपर्थ्यो ।यस बजेटमा केही सकारात्मक पक्ष पनि छन् । राजस्वको सीमित अवस्था, बढ्दो ऋणभार र आर्थिक दबाबलाई ध्यानमा राख्दै खर्चलाई नियन्त्रण गर्ने प्रयास गरिएको देखिन्छ तर केवल हिसाब मिलाउनु मात्र पर्याप्त हुँदैन। जनताले भविष्यप्रति विश्वास जगाउने दृष्टिकोण पनि खोज्छन् । बजेट केवल आय र व्ययको विवरण दिने अर्थमन्त्रीको भाषणबाजी मात्र होइन, राष्ट्रले कुन दिशामा यात्रा गर्ने हो भन्ने राजनीतिक र आर्थिक घोषणापत्र पनि हो ।
नेपालको वर्तमान अवस्थामा बजेटको मुख्य केन्द्र रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, शिक्षा सुधार, स्वास्थ्य सेवा विस्तार र उत्पादन वृद्धिलाई बनाइनुपर्थ्यो । विदेश पलायन रोक्न सक्ने वातावरण निर्माण गर्ने, युवा उद्यमशीलतालाई बलियो आधार दिने, अनुसन्धानमा लगानी बढाउने र गरिब तथा निमुखा वर्गलाई प्रत्यक्ष राहत पुग्ने कार्यक्रमलाई प्राथमिकता दिनुपर्थ्यो ।समग्रमा हेर्दा यो बजेट पूर्ण रूपमा खराब छैन तर यसले जनतामा ठूलो आशा र उत्साहको लहर पैदा गर्न सकेको पनि देखिँदैन । परिवर्तनको अपेक्षा बोकेर आएका नागरिकले असाधारण कल्पना गरेका थिए तर बजेट अपेक्षाकृत सावधान र परम्परागत शैलीमै सीमित भएको अनुभूति हुन्छ । यही कारणले यो बजेटबारे सबैभन्दा ठूलो प्रश्न यसको सफलताभन्दा पनि यसको केन्द्रमा वास्तवमा को छ भन्ने विषयमा उठिरहेको छ।
पुण्य प्रसाई



























