
काठमाडौं । बाढीपहिरोका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका कर्मचारीमध्ये दुई जनाको सकुशल उद्धार गरिएको छ ।उद्धार टोलीले शुक्रबार सुरुङभित्रबाट आयोजनामा कार्यरत मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कबीर महर्जनलाई सकुशल बाहिर निकालेको हो ।सुरुङबाट उद्धार गरिएका दुवै जनालाई तत्काल स्वास्थ्य परीक्षण तथा थप उपचारका लागि हेलिकप्टरमार्फत अस्पताल पठाउने तयारी भइरहेको छ । उद्धारका क्रममा उनीहरूलाई स्ट्रेचरमा राखेर अक्सिजन दिइएको थियो ।उद्धार तथा स्थलगत समन्वयका लागि गृहमन्त्री सुधन गुरुङ स्वयं घटनास्थलमा खटिएका छन् । उनले उद्धार टोलीलाई आवश्यक स्रोत–साधन उपलब्ध गराउने तथा खोज तथा उद्धार कार्यमा सहजीकरण गरिरहेका छन् ।सुरुङभित्र अझै केही व्यक्ति फसेको विवरण प्राप्त भएपछि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र प्राविधिक टोलीले संयुक्त रूपमा खोज तथा उद्धार कार्य जारी राखेका छन् ।यसैबीच, गृहमन्त्री गुरुङको उद्धारस्थलमै सक्रियतामाथि भने आलोचना पनि भएको छ । केहीले विपद् व्यवस्थापनमा गृहमन्त्रीको मुख्य भूमिका निर्देशन, स्रोत–साधन परिचालन र समन्वयमा केन्द्रित हुनुपर्ने भन्दै उनी प्रत्यक्ष रूपमा फिल्डमा खटिनु उपयुक्त नभएको टिप्पणी गरेका छन् ।सामाजिक सञ्जालमा गृहमन्त्री अक्सिजन सिलिन्डर बोकेर उद्धारस्थलमा हिँडिरहेको दृश्य सार्वजनिक भएपछि कतिपयले त्यसलाई ‘फिल्ड स्टन्ट’ तथा लोकप्रियता हासिल गर्ने प्रयासका रूपमा समेत टिप्पणी गरेका छन् । यद्यपि, गृहमन्त्रीको पक्षबाट भने उद्धार कार्यलाई प्रभावकारी बनाउन स्थलगत उपस्थितिले समन्वय र सहजीकरणमा सहयोग पुगेको बताइएको छ ।



























