
काठमाडौं । लोकतान्त्रिक गणतन्त्र कंगो (डीआर कंगो)मा इबोला भाइरसको संक्रमण नयाँ–नयाँ क्षेत्रमा फैलिन थालेपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले संक्रमण अझै नियन्त्रणमा नआएको जनाएको छ।डब्ल्यूएचओका इटुरी प्रान्तका घटना व्यवस्थापक थियर्नो बाल्डेले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा दीर्घकालीन अस्थिरता, द्वन्द्वको जोखिम, विस्थापित जनसंख्या तथा अत्यधिक आवतजावतका कारण संक्रमण नियन्त्रणमा चुनौती थपिएको बताएका छन्।उनका अनुसार स्वास्थ्यकर्मीहरूले समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्दै उपचार र निगरानीलाई प्रभावकारी बनाउन अभियान तीव्र पारेका छन्। हालको मुख्य प्राथमिकता प्रभावित क्षेत्रमै संक्रमण सीमित राख्दै थप फैलिन नदिनु रहेको उनले बताए।डीआर कंगो सरकारका अनुसार आइतबारसम्म इबोलाका दुई हजार ४२३ जना संक्रमित पुष्टि भएका छन्। तीमध्ये ९६७ जनाको मृत्यु भएको छ भने ४६९ जना निको भएका छन्। हाल ७३४ जना बिरामी उपचार वा निगरानीमा रहेका छन्।संक्रमणले अग्रपंक्तिमा खटिएका १२१ जना स्वास्थ्यकर्मीलाई पनि प्रभावित बनाएको छ। तीमध्ये ३६ जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन्। इटुरी प्रान्तको अड्जा स्वास्थ्य क्षेत्रमा समेत संक्रमण पुष्टि भएसँगै पाँच प्रान्तका ४७ स्वास्थ्य क्षेत्रमा इबोला फैलिएको छ, जसमा ४६ क्षेत्रमा अझै सक्रिय संक्रमण रहेको छ।गत मे १५ मा घोषणा गरिएको यो प्रकोपको मुख्य केन्द्र इटुरी प्रान्त नै रहेको छ। यहाँ कुल संक्रमितमध्ये ९० प्रतिशतभन्दा बढी र मृत्युका करिब ८० प्रतिशत घटना दर्ता भएका छन्।डब्ल्यूएचओका अनुसार जनसंख्याको उच्च आवतजावत, सुरक्षा चुनौती, अनौपचारिक खानी गतिविधि तथा युगान्डा र दक्षिण सुडानसँगको सीमापार आवागमनले संक्रमण नियन्त्रणलाई थप जटिल बनाएको छ।संक्रमण सीमापार फैलिन नदिन डीआर कंगो र युगान्डाले सीमा क्षेत्र कासेनीमा सञ्चालन गरिएको मोबाइल प्रयोगशालाको संयुक्त प्राविधिक मूल्यांकनसमेत सम्पन्न गरेका छन्।



























