
प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुलाई लोकसेवा आयोगले खोल्ने विज्ञापनहरुमा उमेर हद लगाएर नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।शुक्रबार सर्वोच्चका न्यायाधीश डा. कुमार चुडालको एकल इजलासले लोकसेवा आयोगले माग गरी दरखास्त आह्वान गरेका विज्ञापनमा समावेश गराई परीक्षामा संलग्न गर्नू गराउनू भनी अन्तरिम आदेश जारी गरेको हो ।नेपाल निजामती कर्मचारी संगठनको तर्फबाट उपमहासचिव युवाचन्द्र घिमिरेले दायर गर्नुभएको रिट न्यायाधीश डा. चुडालले लोकसेवाले दरखास्त आह्वान गरेका विज्ञापनमा प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई उमेर हदका कारण सहभागी हुनबाट नरोक्न आदेश दिनुभएको हो ।३५ वर्ष उमेर पूरा भएका कारणबाट परीक्षामा सामेल नगराउने कार्यबाट उनीहरुको वृत्ति विकासमा असर पुग्न सक्ने देखिएको भन्दै अदालतले विज्ञापनमा समावेश गराई परीक्षामा संलग्न गर्न गराउन अन्तरिम आदेश दिएको हो ।कर्मचारी समायोजन ऐन २०७५ बमोजिम प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरु निजामती सेवा सम्बन्धी ऐन बमोजिम उम्मदेवार हुन पाउने व्यवस्था गरेकाले सम्बन्धित तहमा समायोजित कर्मचारीको निजामती सेवासँगको सम्बन्ध निरन्तर रहने आदेशमा उल्लेख छ ।Source:Gorkhapatra




























