काठमाडौँ। सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एसपिपी सम्झौता गरेको आरोप लगाएका छन्।बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा आयोजित २१ औँ रितबहादुर खड्का ९क। प्रताप० को स्मृति सभा तथा दोलखा जिल्लाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई शुभकामना दिँदै अध्यक्ष दाहालले यस्तो आरोप लगाएका हुन्।उनले एसीपिपी सम्झौता कार्यान्वयन गर्ने काम सन् २०१९ सालमा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा रहेको भन्दै त्यसलाई हरेक नेपालीले बुझ्न आवश्यक रहेको बताए।अध्यक्ष दाहालले एसपिपी सम्झौता गर्ने भन्ने कुरा झुटो भएको दाबी गर्दै नेपालले अमेरिकासँग एसपिपीजस्ता कुनै सैन्य सम्झौता नगर्ने घोषणा पनि गरे।उनले भने, ‘कतिपय बेला कयौँ भ्रमहरू सिर्जना हुने र त्यसले जनतालाई प्रश्न उब्जाउँछन्। हामीले त्यसलाई जवाफ दिने पनि गरेको छौँ। हिजोआज पनि एउटा प्रश्न एसपिपी भन्ने हुँदैछ रे, सैनिक सम्झौता हुँदैछ रे, भनेर भइसक्यो रे भनेजस्तो गरी प्रचार गरिएको छ। बिल्कुल झुटो हो। म गठबन्धनको एउटा नेताको हैसियतले र प्रधानमन्त्री, गठबन्धनसँग भएको छलफलमा त्यस्तो कुनै सम्झौता भएको छैन। त्यस्तो कुनै सैन्य सम्झौता हुनेछैन यो घोषणा म यहाँबाट गर्न चाहन्छु। प्रधानमन्त्रीजीले म कुनै पनि हालतमा त्यस्तो खालको सम्झौतामा जान्न भनेर त्यो कमिटमेण्ट गर्नुभएको छ। कोही भ्रममा पर्न जरुरी छैन। बरु एसपीपी सम्झौता कार्यान्वयन गर्ने काम सन् २०१९ सालमा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा छ। यो कुरा हामी सबैले बुझ्न जरुरी छ।’अध्यक्ष दाहालले गठबन्धन सरकार एसपिपीजस्तो सैन्य सम्झौता गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै गठबन्धन नेपालको राष्ट्रिय स्वाधिनता, नेपालको विकास र समृद्धिको पक्षमा दृढतापूर्वक उभिने प्रतिवद्धता पनि जनाए।