
जनसंख्याको वितरणमा तराई क्षेत्रको हिस्सा बढ्दै जाँदा पहाड र हिमालको जनसंख्या भने खुम्चँदै गएको छ ।आज शुक्रबार सार्वजनिक २०७८ सालको अन्तिम नतिजा अनुसार नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । १० वर्षअघि नेपालको जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ रहेको थियो ।जनसंख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको छ ।सार्वजनिक विवरणअनुसार विगत १० वर्षमा तराई क्षेत्रमा बसोबास गर्ने जनसंख्या २३ लाख १५ हजार ३०१ जनाले बढ्दा पहाडी क्षेत्रमा बसोबास गर्ने जनसंख्या तीन लाख ६३ हजार ६१ ले बढेको छ । तर हिमाली क्षेत्रमा भने १० वर्षमा जनसंख्या घटेको छ । विगत १० वर्षमा हिमाली क्षेत्रका बसोबास गर्ने जनसंख्या आठ हजार ८४४ जनाले घटेको देखिएको छ ।१० वर्षमा कुल जनसंख्या २६ लाख ७० हजार ७४ ले वृद्धि हुँदा वृद्धिको अधिकांश हिस्सा तराई क्षेत्रले नै ओगटेको छ । भौगोलिक क्षेत्रअनुसार जनसंख्याको विवरण हेर्दा तराई क्षेत्रको २०६८ सालको तुलनामा ३.३४ प्रतिशतले बढेको छ ।१० वर्षअघिको जनगणनामा तराईको जनसंख्या कुल जनसंख्याको ५०.२७ प्रतिशत थियो । २०७८ सालको जनगणनामा यो प्रतिशत बढेर ५३.६१ प्रतिशत पुगेको छ ।१० वर्षअघि तराईको जनसंख्या एक करोड ३३ लाख १८ हजार ७०५ रहेको थियो । २०७८ सालमा तराईको जनसङ्ख्या बढेर १ करोड ५६ लाख ३४ हजार ६ पुगेको छ । यस्तै, पहाडी क्षेत्रको जनसंख्या २०६८ सालमा ४३.०१ प्रतिशत रहेकोमा २०७८ सालको जनगणनामा ४०.१ मा झरेको छ ।२०६८ सालमा पहाडको जनसंख्या एक करोड १३ लाख ९४ हजार सात थियो । १० वर्षपछि पहाडमा बसोबास गर्नेको जनसंख्या एक करोड १७ लाख ५७ हजार ६२४ पुगेको छ । कुल जनसंख्या बढेका कारण जनसंख्याको वितरणमा पहाडको हिस्सा खुम्चिएको छ ।१० वर्षअघि हिमाली क्षेत्रमा कुल जनसंख्याको ६.७३ प्रतिशत अंश रहेकोमा २०७८ मा केही कम भई ६.०८ प्रतिशतमा झरेको छ । हिमाली भेगमा १७ लाख ८१ हजार ७९२ रहेको जनसंख्या १० वर्षपछि १७ लाख ७२ हजार ९४८ मा झरेको छ ।२०७८ सालको जनगणनाको प्रारम्भिक नतिजाअनुसार नेपालको जनघनत्व १९८ जना पुगेको छ, जुन २०६८ सालमा १८० मात्र थियो ।भौगोलिक क्षेत्रअनुसार हेर्दा २०७८ को प्रारम्भिक नतिजा अनुसार सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६० जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ प्रतिवर्ग किलोमिटर छ ।प्रदेशहरुमध्ये सबैभन्दा धेरै जनसंख्या बागमती प्रदेशमा छ । जहाँ कुल जनसंख्याको २०.९७ प्रतिशत मानिस बसोबास गर्दछन् । सबैभन्दा कम जनसंख्या कर्णाली प्रदेशको छ । जहाँ कुल जनसंख्याको ५.७९ प्रतिशत मानिस बसोबास गर्ने तथ्यांकले देखाएको छ ।Source:Gorkhapatra




























