
उपराष्ट्रपति रामसहायप्रसाद यादवले निर्धक्क भएर नेपालमा लगानी गर्न गैरआवासीय नेपालीहरुलाई आग्रह गरेका छन् । उपराष्ट्रपतिसँग गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिले बुधबार गरेको भेटवार्तामा उनले लगानीका लागि मार्ग प्रशस्त गर्न आफू प्रतिबद्ध रहेको बताए ।यस्तै विदेशमा आर्जन गरेको पुँजी र ज्ञान नेपालको प्राविधिक तथा व्यावसायिक ज्ञान, सीप विकासको क्षेत्रमा निर्धक्क भएर लगानी गर्न समेत उनले आह्वान गरेका थिए । सङ्घका कार्यकारी अध्यक्ष रविना थापा र अध्यक्ष कुल आचार्यको प्रतिनिधित्वमा गएको प्रतिनिधिमण्डलले उपराष्ट्रपति यादवसंग नागरिकताको निरन्तरता, विदेशमा रहेका नेपालीको सम्पत्तिको सुरक्षा, नेपालमा सहजै लगानीको वातावरण निर्माणलगायत विषयमा छलफल गरेको थियो । भेटमा सङ्घका कार्यकारी अध्यक्ष थापाले सङ्घले लामो समयदेखि नागरिकताको निरन्तरताको लागि आवाज उठाउँदै आएपनि सो विषय टुङ्गो नलागेको भन्दै त्यसका लागि सकारात्मक पहल गरिदिन उपराष्ट्रपतिको ध्यानाकर्षण गराएकी थिईन् । त्यस्तै सङ्घका अध्यक्ष आचार्यले सम्पत्तिको सुरक्षा सम्बन्धी कानूनलाई गैरआवासीय नेपालीमैत्री बनाउन र लगानीका लागि विद्यमान बाधा व्यवधान सुल्झाउनका लागि सकारात्मक पहल गरिदिन आग्रह गरेका थिए ।अध्यक्ष आचार्यले पटक पटकको प्रयासबाट पनि नागरिकताको विषय नटुङ्गिनु दुखद् भएको भन्दै उक्त विषय सम्बोधनका लागि सबै निकायबाट पहल गर्नुपर्नेमा जोड दिए । यस्तै सङ्घका उपाध्यक्ष आर के शर्माले श्रमिकको योगदानलाई मुलुकले यथेचित सम्मान गर्न सक्नुपर्नेमा जोड दिँदै राज्यका सर्वोच्च निकायबाट पनि त्यसका लागि सकारात्मक रुपमा पहल हुनुपर्ने बताए । सङ्घका युवा संयोजक अब्दुल बासिदले गैरआवासीय नेपाली ऐनलगायत गैरआवासीय नेपालीसँग प्रत्यक्ष सरोकार राख्ने विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन र त्यससम्बन्धी नियमावली तथा आदेशमा संशोधन गर्न र लगानी सम्बन्धमा विद्यमान न्युनतम मापदण्ड हटाउन सहयोग गर्न उपराष्ट्रपति समक्ष आग्रह गरे ।यस्तै सङ्घका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले विश्वभर छरिएर बसेका गैरआवासीय नेपाली नेपाललाई छिट्टै समृद्ध बनाउने अभियानमा लागेको भन्दै उक्त अभियानमा सरकारसँगको सहकार्य र राज्यका सर्वोच्च निकायको समर्थन आवश्यक रहेको बताए । भेटमा आइसीसी उपाध्यक्ष दुर्गा उपाध्यक्ष, सचिव गोविन्दप्रसाद गौतम, पूर्वआइसीसी सदस्य राम बेलबासे, क्षेत्रीय संयोजक (मध्यपूर्व) मनोजकुमार श्रेष्ठ, भगिरथ योगीलगायत विभिन्न मुलुकका प्रतिनिधिहरु र सङ्घका प्रमुख कार्यकारी अधिकृत रवीकिरण अधिकारीको उपस्थिति रहेको थियो ।




























