
जिम्बावेमा जारी आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत सातौँ स्थानका लागि भएको खेलमा नेपाल आयरल्यान्डसँग दुई विकेटले पराजित भएको छ । हारसँगै नेपाल आठौं भयो ।ताकाशिंगा स्पोर्ट्स क्लबको मैदानमा मंगलबार जितका लागि दुई सय ६९ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले ४९.२ ओभरमा आठ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।आयरल्यान्डका लागि कर्टिस च्याम्फरले ६२ र ह्यारी टेकरले ६० रनको अर्धसतकीय इनिङ्स खेल्नुभयो । यस्तै जर्ज डक्रेलले ३३, लोर्कान टुकरले २४, मार्क अडेरले १८, ओपनर एन्डी म्याकब्राइनले १७, ग्रेथ डेनालीले अविजित १६ र पल स्टर्लिङले १५ रन बनाउनुभयो ।बलिङमा नेपालका करण केसीले चार विकेट लिनुभयो । करणले १० ओभरमा ५८ रन खर्च गर्दै चार विकेट लिनुभएको हो । किशोर महतोले दुई तथा गुलसन झा र सन्दीप लामिछानेले एक एक विकेट लिनुभयो ।यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ६८ रन बनाएको थियो । नेपालका लागि गुलसन झाले अविजित ५७ रनको अर्धसतकीय इनिङ्स खेल्नुभयो ।नवौँ स्थानमा ब्याटिङ गर्न आउनुभएका गुलसनले ४२ बलमा चार चौका र तीन छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो । यस्तै अर्जुन साउदले ४८ र कुशल मल्लले ४४ रन बनाउनुभयो ।सन्दीप लामिछानेले ३२ रन बनाउनुभयो । सन्दीपले ३० बलमा तीन चौका र एक छक्काको सहयोगमा उक्त रन जोड्नुभएको हो । कप्तान रोहित पौडेलले २९ र भीम सार्कीले २० रन बनाउनुभयो । ओपनर कुशल भुर्तेल आठ, ज्ञानेन्द्र मल्ल सात र करण केसी चार रनमा आउट हुनुभयो । किशोर महतोले अविजित एक रन जोड्नुभयो ।बलिङका आयरल्यान्डका बेरी म्याकर्थी, क्रेईग योङ र मार्क अडेरले दुई दुई तथा कर्टिस चेम्बर, ग्रेथ डेनाली र एन्डी म्याकब्राइनले एक एक विकेट लिनुभयो । नेपाल छनोटको सुपर सिक्स पुग्नबाट बाहिरिएपछि प्लेअफ खेलेको हो ।टेस्ट मान्यता प्राप्त टोली आयरल्यान्डसँग नेपालले पहिलो पटक एकदिवसीय खेल खेलेको हो । नेपालले सातौँ स्थानका लागि आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई तीन विकेटले हराउँदै आयरल्यान्डसँगको भेट पक्का गरेको थियो ।आयरल्यान्डविरुद्ध नेपाल-११रोहित पौडेल (कप्तान), अर्जुन साउद (विकेटकिपर), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, करण केसी, सन्दीप लामिछाने र किशोर महतो ।




























