
सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सभापति लामिछानेले मिटरब्याज पीडितलाई न्याय दिनका लागि सरकारले अघि सारेको काम सकारात्मक रहेको भन्दै रास्वपाको पूर्णसमर्थन रहने समेत स्पष्ट पार्नुभयो ।उहाँले राष्ट्रिय स्वाधिनता र स्वाभिमानताका विषयमा यसरी संसदमा जवाफ दिनुपर्ने वातावरण फेरि सिर्जना नहोस् भनी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराउनुभयो ।नेकपा (एमाले)का सांसद गोकुल बास्कोटाले समसामयिक विषयमा उठेका विषयमा प्रधानमन्त्रीले सदनलाई जवाफ दिएर विश्वासको वातावरण सिर्जना गर्नुपर्ने माग गर्नुभयो । उहाँले मुलुकको सार्वभौमिकताको प्रवर्द्धनमा सबै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहनुभएका सांसद राजेन्द्र लिङ्देलले प्रधानमन्त्रीले दिनुभएको अभिव्यक्तिबारे सदनलाई स्पष्ट जवाफ दिनुपर्ने माग गर्नुभयो । रासस




























